‘गरीबको नाना, शनिबारको छाना’

मनोज दाहाल मोरङ, २१ माघ । गरीब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरीबका लागि नाना, शनिबारको छाना’ भएको छ । प्रत्येक शनिबार बिहानैदेखि लाग्ने खुला हाटमा लत्ताकपडा खरीद गर्ने मानिसको अत्यधिक भीडले सुनसान सो ठाउँ अहिले गुल्जार भएको छ । अत्यधिक चहलपहल एवं भीडले गर्दा त्यस ठाउँमा पसल थाप्ने मानिस पनि अत्यन्त खुशी छन् ।

शनिबार एक दिन मात्र लाग्ने सो हाट पहिले विराटनगरको डिप्लटमा लाग्ने गरेको थियो भने महानगरपालिकाले सो ठाउँमा आवश्यक संरचना बनाउन थालेपछि ती व्यापारी केही दिन पहिले विराटनगरको भाटभटेनीस्थित पसल प्रत्येक शनिबार थाप्ने गरेका थिए । ठाउँका अभाव यत्रतत्र भौंतारिरहने यी व्यवसायी स्थायी ठाउँको खोजीमा थिए ।

यो खोजीलाई स्थानीय देवेन्द्र भण्डारीले पूरा गरिदिएपछि शनिबार हाट भर्न आउने व्यवसायी उत्साहित मात्र होइन, उनीहरुको जीविकोपार्जनको एउटा भरपर्दो माध्यम बन्न पुगको छ । केही दिन पहिले सो ठाउँमा घाँस, झार, फोहर थुप्रिने, खुलादिसापिसाब गर्ने स्थलको रुपमा विकसित हुँदै गएको सो ठाउँलाई यसरी राख्न पाइँदैनन् भनेर दबाब दिँदै आएको थियो । दिउँसै डर लाग्ने सो ठाउँ अहिले राम्रो भएको छ भने सयौँ व्यापारीका लागि कमाउने ठाउँ बनेको छ ।

जग्गा धनी देवेन्द्र भण्डारीले त्यस जग्गामा बजार लगाउन ठेकेदारलाई बहालमा दिएका छन् । ती ठेकेदारले शनिबार हाटमा पसल थप्नेसँग भाडा असूल गर्छन् । ती भाडा पसल हेरीहेरी शुल्क लगाएका छन् । लगभग एक पसलेले मासिक रुपमा रु एक हजारदेखि दुई हजारसम्म बहालबापत ठेकेदारलाई बुझाउने गरेको पाइएको छ ।

यस्तो खुला बजारमा १०० भन्दा व्यापारीले बालकदेखि वृद्धासम्मको तयारी लुगा बिक्री गर्ने गरेका छन् । बजार र ठाउँको अभावमा त्यहाँ पसल गरेर आम्दानी हुन थालेपछि व्यापारी खुशी छन् भने खेर गएको जग्गाबाट मासिकरुपमा भाडा आउन थालेपछि जग्गा धनी पनि खुशी छन् ।

व्यापारीले स्थानीय होजियारी उद्योग, विराटनगर, काठमाडौँ, सुनसरीको इटहरीको थोक बिक्रेताबाट पुरानो स्टकका सामान खरीद गरी सस्तो बिक्री गर्ने गरेका छन् । केही व्यापारीले मानिसको घर–घरमा गई स्टिलका भाँडालगायत अन्य सामानमा साटेर सङ्कलन गरेका लुगाफाटोलाई पुनः धोएर र आइरन लगाएर बिक्रीमा ल्याउने गरका छन् ।

शृङ्गारका सामान, जुत्ता, चप्पल, बच्चाको खेलौनादेखि लिएर मःम र चटपटीको पसल रहने सो हाटमा जुत्ता, चप्पल विराटनगर, काठमाडांँैका फ्याक्ट्रीदेखि भारतका थोक बिक्रेताको बिक्री नभएर स्टकमा रहेका सामान कम मूल्यमा खरीद गरी सस्तोमा नै बिक्री गर्ने गरेको पाइन्छ । अहिले जाडोको मौसममा स्वीटर, ट्राउजर, मोटो तथा पातलो ज्याकेट, आउटर, मोजा, जुत्ता, चप्पल, पुरुषले लगाउने भित्री कपडा, शृङ्गारका सामान, टीका, सुनको जलप लगाएको नक्कली गरगहना, बालबालिकाको लागि खेलौना, बाँसुरीलगायतका सामग्री बिक्रीमा राखिएका हुन्छन् ।

सस्तोमा छानीछानी खरीद गर्न पाउने ग्राहक सकभर बिहानको समयमा निकै देखिन्छन् । उनीहरुमा त्यतिबेला राम्रो सामान सस्तोमा पाइन्छ भन्ने विश्वास छ । बजारमा सामान खरीद गर्नका लागि विराटनगरलगायत मोरङ र सुनसरीका ग्रामीण क्षेत्रका जनता तथा सीमावर्ती भारतीय उपभोक्ता पनि आउने गर्दछन् ।

शनिबारको बजारमा पसल राखेका रवि मालीले जिन्सको पाइन्ट आकारअनुसार रु ४५० देखि एक हजार मूल्यमा बिक्री गरिरहेका छन् । उहाँका अनुसार यो पाइन्ट बजारमा खरीद गर्न गयो भने रु दुई हजारभन्दा बढी मूल्य ग्राहकले तिर्नुपर्छ, हामी सस्तोमा बिक्री गरिहेकाले ग्राहकले छानीछानी लुगा खरीद गर्छन् पसले मालीको भनाइ छ । उहाँले भन्नुभयो, “म प्रत्येक शनिबार यो हाटमा रु छ हजारदेखि आठ हजारसम्म बिक्री गर्छु र आम्दानी पनि राम्रै हुन्छ, त्यसैले यस्तो हाट खोजीखोजी जाने गरेको छु ।” उहाँले सोमबार सुनसरीको धरान, मङ्गलबार सुनसरीकै दुहबीमा लाग्ने हाट पनि जाने गरेको छु भन्नुभयो ।

यसैगरी होजीयारीका सामान बिक्री गर्ने अमरजित गुप्ताले बजारमा रु तीन हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने लुगा रु १५० देखि ३५० मूल्यमा बिक्री गर्ने गरेको छु भन्नुभयो । ग्राहकको सेवा नै हाम्रो आम्दानीको स्रोत हुने भएकाले धेरै मूल्य राख्दैनौँ उहाँको प्रतिक्रिया थियो ।
यसैगरी जुत्ताको कारोवार गर्ने नन्दी गुप्ताले पसलमा भएका जुत्ता रु १०० देखि ६५० सम्म बिक्री गर्ने गरेको बताउँदै डुलेर बिक्री गर्दा पूँजी पनि धेरै नलाग्ने र आम्दानी पनि राम्रै हुने गरकाले १२ वर्षदेखि आफूले यो काम गर्दै आएको उहाँले बताउनुभयो । ‘‘मैले विराटनगरको बजारमा दिनमा रु १२ हजारसम्मको सामान बिक्री गर्छु’’, उहाँले भन्नुभयो ।

वास्तविक मूल्यभन्दा ७५ प्रतिशत कम मूल्यमा सामान किन्न पाउँदा खुशी लागेको स्थानीय युवा आर्जुन सुवेदीले बताउनुभयो । उहाँले बजारको मुख्य सडकमा सटर भाडामा लिएर पसल गर्ने भन्दा यहाँ निकै सस्तोमा खरीद गर्न पाएकाले नै ग्राहकको रोजाइँमा यो बजार पर्न गएको मनसाय राख्नुभयो ।

यसैगरी बाँसुरीको पसल राख्ने मोहम्मद हसनले यो बजारमा बिक्री राम्रो हुने गरेको बताउँदै भन्नुहुन्छ, ‘‘मैले बेलुन रु ३०, बाँसुरी रु ३० देखि ६० मा र मयुरको प्वाँख भएको झुप्पा रु १२० मा बिक्री गर्छु ।’’ खासगरी आफ्ना सामान बालबालिकाले किन्ने भएकाले कम लगानीमै व्यापार गर्न सकेको उहाँको भनाइ छ । बाँसुरीको लागि बाँस पनि गाउँबाटै ल्याउने र घरमा बनाएर बिक्री गर्ने गरेकाले आफूलाई मेहनतअनुसारको आम्दानी भइरहेकामा उहाँ सन्तुष्ट हुनुहुन्छ ।

विराटनगर महानगरपालिकाले गरीब तथा विपन्न वर्गका जनतालाई आवश्यक पर्ने यस प्रकारको बजारलाई हप्ताको सातै दिन सञ्चालन गर्ने सोच बनाएको छ । यसबाट धेरै हदसम्म बेरोजगारीको समस्या समाधान हुने आशा पनि गरिएको छ ।

शृङ्गारका सामान बेच्ने विराटनगर महानगरपालिका–६ निवासी मुन्नी रौनियारले सस्तोमा शृङ्गारका सामान बिक्री गर्ने भएकाले ग्राहकको भीड लाग्ने गरेको छ भन्नुभयो । साप्ताहिक रुपमा लाग्ने यस प्रकारको बजारबाट गरीब लाभान्वित हुने भएकाले यसलाई आवश्यक संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।