सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ ः प्रधानमन्त्री

लुम्बिनी, १ फागुन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्नुहुँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गर्नुभयो । उहाँले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताउनुभयो । “कर तिर्नुस् नाफा कमाउनुस्”, उहाँले भन्नुभयो, “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।” प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्नेछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ भन्नभयो । उहाँले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबीचमा लुम्बिनी केवलकार ‘रोलमोडल’ बन्न सक्ने र यसले आफ्नो लक्षित प्रतिफल छिट्टै नै प्राप्त गर्ने विश्वास दिलाउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका वासिन्दा निकै खुशी भएका छौँ भन्नुभयो ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय सङ्गमस्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्नस्वरुप यो आयोजना शुरु गरिएको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतीक्षापछि आयोजनाले गति लिएकामा खुशी व्यक्त गर्दै आयोजना समयमै पूरा गर्ने बताउनुभयो । बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

लुम्बिनी केवलकार प्रालिद्वारा निर्माण हुने यस केवलकार बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केवलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।