हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ। करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो।

नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेका हुन्। नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताए।

धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन्।

नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ। डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ। एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन्। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ। दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ। उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान शुरु गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।