सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ ः प्रधानसेनापति थापा

काठमाडौँ, १२ फागुन । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताउनुभएको छ ।

हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८, ६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उहाँले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताउनुभयो । “यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उहाँले भन्नुभयो, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।”

प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताउनुभयो । “आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिकरुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उहाँले भन्नुभयो । दैनिक कार्यशैली, सोच विचारका साथ गरेको आरोहण देशका लागि मार्ग निर्देशन भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहित सबै एकजुट भएर एउटै लक्ष्यका साथ चढेकाले हिमाल आरोहणको कीर्तिमान सम्भव भएको बताउनुभयो । योजना सही ढङ्गले कार्यान्वयन गरेकै कारण ठूलो सफलता प्राप्त भएको उल्लेख गर्दै उहाँले आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । प्रधानसेनापति थापाले नेपालीले विदेशमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै त्यही अनुभवअनुसार आफ्नै देशमा काम गर्नसके देशले फड्को मार्ने तथा उन्नति प्रगति गर्न सम्भव हुने बताउनुभयो ।

“विदेशको अनुभवले राष्ट्रप्रतिको कर्तव्य पालन गर्न मद्दत पुग्छ, विदेश जानु नराम्रो होइन, तर त्यहाँ के सिक्ने र के सिक्यौँ भन्ने कुरा महत्वपूर्ण हो”, उहाँले भन्नुभयो । प्रधानसेनापति थापाले हिमाल आरोहण सामान्य काम नभएको उल्लेख गर्दै नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको स्पष्ट पार्नुभयो । नेपालीले विदेशमा बेला बखतमा आफ्नो अद्भूत क्षमता प्रदर्शन गर्दै आएको र आफ्नो देशमा आएर उक्त क्षमता के कति देखाउन सक्यौँ भन्ने कुरा अर्थपूर्ण हुने उहाँको भनाइ थियो । “गरे असम्भव के नै छ र, विश्वास भए असम्भव केही पनि छैन, सम्भव असम्भव हामी आफैँले तय गर्ने हो”, प्रधानसेनापति थापाले भन्नुभयो ।

सो अवसरमा केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उहाँले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिनुभयो । दश आरोही सम्मिलित नेपाली आरोहण टोलीले गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरेको हो ।

‘नेपाली आरोही भरिया मात्र होइनन्’

विश्वकै अग्लोमध्येको दोस्रो केटु हिमाल आरोहण दलका टोली नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताउनुभएको छ । सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उहाँले हिमाल आरोहण गर्दाको अनुभव सुनाउनुभएको थियो ।

आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको बताउनुभयो । आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उहाँको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाउनुभयो ।

नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताउनुभयो । “विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन”, पुनमगरले भन्नुभयो । उहाँले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाउनुभएको छ ।

“मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “म आफ्नो लक्ष्यमा निरन्तर लागिरहे, आज सफलता मिलेको छ ।” माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेको उहाँले सुनाउनुभयो । “लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाली सेनाले विपद् व्यवस्थापन र खोज तथा अनुसन्धानमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो । नेपाली सेनाले आगामी चैत ३१ देखि जेठ २२ गतेसम्म विश्वको अग्लो हिमाल सगरमाथालगायत छ हिमालको झण्डै ३५ टन फोहर सङ्कलन गरिने सो अवसरमा जानकारी दिइयो । सम्मान कार्यक्रममा नेपाली सेनाको उच्च पदस्थ अधिकृतको उपस्थिति थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।