पोखरा–नेपालगञ्ज हवाई सेवाः पर्यटक बढ्ने विश्वास

पोखरा, १२ फागुन । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् ।

भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना कोभिड–१९ का कारण पूरा हुन नसकेपछि निजी क्षेत्रको पहलमा पछिल्लो समय आन्तरिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय गतिविधिमा जोड दिन थालिएको छ ।

हालै मात्र गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा र व्यापारिक शहरको रुपमा चिनिने नेपालगञ्जलाई हवाई सेवामार्फत जोड्ने काम निजी क्षेत्रबाट भएको छ । यही फागुन ७ गते नेपालगञ्जबाट नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा)को टोली र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर राणासहितको जनप्रतिनिधि एवम् पर्यटन व्यवसायीसमेतको टोलीले सीता एयरलाइन्सको चार्टर उडानबाट पोखरा आएर यसको शुभारम्भ गर्नुभएको थियो ।

कोभिड–१९ ले सुस्ताएको पर्यटनलाई हवाई सेवामार्फत जोडेर आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सिधा उडान निकै सकारात्मक भएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जकान्त सिग्देलले बताउनुभयो । “लामो समयको पहलपछि पोखरा नेपालगञ्ज हवाई एयर सेवा शुभारम्भ भएको छ । आशा छ, यसले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै निकट भविष्यमा पनि भारतीय पर्यटकलाई पोखरा आउने वातावरण सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो । उहाँले कोभिडका कारण छिमेकी देशका नाका पनि सुचारु हुन नसकेको अवस्थामा आन्तरिक पर्यटनको बजार खोज्दै र प्रवद्र्धन गर्दै नाट्टा अघि बढेको बताउनुभयो । उहाँका अनुसार देश दर्शन कार्यक्रमलाई लक्षित गरेर अहिले हप्तामा दुई दिन शुक्रबार र आइतबार पोखरा नेपालगञ्ज उडान गरिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पर्यटन क्षेत्रका लागि निकै सकारात्मक प्रयास भएको बताउनुभयो । “पर्यटन क्षेत्रको विकासका लागि हवाई र ‘रोड कनेक्टिभिटी’ महत्वपूर्ण हुन्छ, अहिले मानिस निकै व्यस्त छन्, छोटो समयमा धेरै ठाउँ घुम्न चाहन्छन्, ‘हवाई कनेक्टिभिटी’ले समयको बचत गराउँदछ”, उहाँले भन्नुभयो, “हवाई सेवाले दुई प्रदेशमात्र नभई भारतीय पर्यटकलाई पनि पोखरा आउन सहज बनाउने छ ।” उहाँका अनुसार अहिले भारतीय नाकाबाट फाट्टफुट्ट पर्यटक आएका छन्, गाडीलाई भने रोक लगाइएको छ । जसले गर्दा पर्यटक खुलेर आउन सकेका छैनन् । घुम्न चाहने पर्यटक दुविधामा छन् । अब सरकारले नाका खुलेको आधिकारिक घोषणा गरेर पर्यटकलाई नेपाल घुम्न वातावरण बनाइदिनुपर्छ ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “कोभिडपछि नेपाल खुला छ भन्ने सन्देश दिन आवश्यक छ । कतिपय देशले कोभिड पछाडि कसले बढी पर्यटक ल्याउने भन्ने रणनीतिक तयारीमा लागिरहेका छन् । यस्तो अवस्थामा नेपालले पनि छिटोभन्दा छिटो पर्यटकमैत्री नीतिमार्फत सहज वातावरण बनाएर पर्यटक भित्र्याउन पहल गर्नुपर्छ ।”

आन्तरिक पर्यटन प्रवद्र्धन समिति गण्डकीका संयोजक अग्नि कँडेलले पर्यटकीय गतिविधिलाई अगाडि लैजानुको विकल्प नभएको बताउँदै हालै पोखरा– नेपालगञ्ज उडानले पनि एउट सकारात्मक सन्देश दिएको छ भन्नुभयो । उहाँले अहिले २० प्रतिशत आन्तरिक पर्यटकनै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाइरहेको उल्लेख गर्दै गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र नवलपुरबाहेक नौवटा जिल्लामा आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्रभावकारीरुपबाट अघि बढाउन समिति बनाएको जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।