सौर्य तारबारको मर्मतसम्भार नहुँदा समस्या

झापा, १३ फागुन । दक्षिण जलथल क्षेत्रका रैथानी जङ्गली हात्ती नियन्त्रणका लागि बनाइएको सौर्य तारबारको मर्मतसम्भार नहुँदा हात्ती गाउँ पस्न थालेको स्थानीयवासीको गुनासो छ । प्राकृतिक संरक्षण कोष र सरकारको सहकार्यमा कचनकवल, हल्दिबारी, बाह्दशी र भद्रपुरको दक्षिण क्षेत्रसम्म ३७ किलोमिटरमा विद्युतीय तारबार जडान गरिएको तर तारबारको मर्मत सम्भार नहुँदा करेन्ट प्रवाह नै नभएका कारण हात्ती गाउँ पसेर दुःख दिन थालेको स्थानीको गुनासो हो ।

भद्रपुर नगर वन महासङ्घका अध्यक्ष चन्द्र तामाङले तारबार गरिएको क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण नगरेको र कोष आफैँले समेत मर्मत सम्भारमा चासो नदिँदा समस्या भएको बताउनुभयो । सौर्य ब्याट्री ‘ड्यामेज’ भएको, पोल ढलेका कारण करेन्ट प्रवाह नहुँदा हात्ती घेराबारा नै भत्काएर गाउँमा पस्न थालेको उहाँको भनाइ छ ।

‘‘काम चाहीँ गर्ने तर मर्मतसम्भार नगर्ने हो भने यस्ता तारबारको काम छैन”, उहाँले भन्नुभयो, ‘‘कि तत्काल समुदायलाई हस्तान्तरण गर्नुप¥यो कि कोष आफैँले मर्मतको काम गर्नुप¥यो ।” उहाँले जलथलका २२ वटै सामुदायिक वनको वरिपरि सौर्य घेराबार गर्ने भनिए पनि अझै विशाल सामुदायिक वनदेखि कालीमन्दिर सामुदायिक वनसम्मको करीब १० किलोमिटर भन्दा बढी स्थानमा काम नै शुरु नभएको गुनासो गर्नुभयो ।

डिभिजन वन कार्यालय झापाका अधिकृत ओम भट्टराईले यस विषयमा कार्यालयले केही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक संरक्षण कोष आफैँले काम गरिरहेको छ, हामीले त समन्वय गर्ने काम मात्र गर्छौँ । यसको मर्मतसम्भार गर्ने काम स्थानीय र कोषकै हो ।”

प्राकृतिक संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सौर्य तारबार मर्मत सम्भारका काम चार दिन अघिदेखि भइरहेको बताउनुभयो । उहाँले सामुदायिक वन र स्थानीयले अपनत्व नलिइएका कारण समस्या आएको बताउनुभयो । तारबार गरिएका क्षेत्रमा सरसफाइ नभएको, रुख ढाल्दा तार कुच्चिएको र पोल लड्दासमेत कतिपय सामुदायिक वन र समुदायले चासो नदिएको गुनासो गर्नुभयो ।

“सामुदायिक वनलाई लिखित नभए पनि मौखिक हस्तान्तरण भइसकेको छ”, उहाँले भन्नुभयो, “कसैले राम्रो हेरचाह र मर्मत सम्भार गर्नुभएको छ कसैले बेवास्ता । सबैले ध्यान दिनुपर्छ र अपनत्व ग्रहण गर्नुपर्छ । अनि मात्र तारबार टिकाउ हुन्छ ।” उहाँका अनुसार प्रत्येक एक किलोमिटरको अन्तरमा १०० केभीको ब्याट्रीसहित सोलर प्यानल राखिएको छ ।

अधिकृत गौतमले बाँकी रहेका स्थानमा आर्थिक वर्ष २०७६/७७ मै विद्युतीय तारबार गर्ने भनिए पनि कोभिड–१९ का कारण गर्न नसकिएको बताउनुभयो । तारबार नभएको क्षेत्रको सर्भेकार्य सकिएको जानकारी दिँदै उहाँले कोषले तत्काल बोलपत्रको प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै भन्नुभयो, “अब चाँडै काम शुरु हुन्छ ।” गत वर्षको पुसमै रु चार करोड ७४ लाखको लाखतमा सौर्य तारबारको कार्य सो क्षेत्रमा सम्पन्न भएको थियो । जसका कारण जङ्गली हात्तीको समस्याबाट मुक्त हुने स्थानीयवासीले अपेक्षा गरेका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।