जिडिपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च

काठमाडौं । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जिडिपी)को छदेखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ । हाल कूल जिडिपीको आकार रु ३९ खर्ब ४३ अर्ब रहेको छ । त्यसको छदेखि साढे ७ प्रतिशत भन्नाले न्यूनतम रु दुई खर्ब ३६ अर्बदेखि अधिकतम रु दुई खर्ब ९५ अर्ब हो । यो खर्च प्रवृत्ति आवश्यकताभन्दा न्यून रहेको पूर्वाधार क्षेत्रका जानकारहरुको भनाइ छ ।

पूर्वाधार विज्ञ कमल पाण्डेका अनुसार सरकार र निजी क्षेत्रले गरेका विभिन्न अध्ययनले दिगो विकास लक्ष्य, सरकारले राखेको २५ वर्षे दीर्घकालीन लक्ष्य पूरा गर्न पूँजीगत खर्च जिडिपीको १२ देखि १५ प्रतिशत गर्नुपर्ने देखाएको छ ।

यो वार्षिक न्यूनतम रु चार चार खर्ब ७३ अर्बदेखि रु पाँच खर्ब ९१ अर्ब हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पिइआइ) ले संयुक्तरुपमा आयोजना गरेको नीति संवादको पहिलो शृङ्खलामा पूर्वाधार विज्ञ पाण्डेले पूर्वाधार विकासका लागि खर्च नै कम भएको जानकारी दिए ।

“पूँजीगत खर्चमध्ये ७० प्रतिशत पूर्वाधार (सडक, खानेपानी, ऊर्जा, शहरीकरण र सञ्चार) क्षेत्रमा प्रयोग हुने गरेको छ”, उनले भने । पूर्वाधारमा विनियोजित रकममध्ये ७० देखि ८० प्रतिशत मात्र खर्च हुने गरेको छ । पछिल्ला वर्षमा यही प्रवृत्तिमा खर्च भइरहेको पूर्वाधार विज्ञ पाण्डेको भनाइ छ ।

पूर्वसचिव कृष्ण ज्ञवालीले पूर्वाधार आयोजनाको सुशासनमा सुधार नगरी आयोजना निर्माणमा सुधार नहुने बताए । “नेपालमा आयोजनाको सुशासन अत्यन्त दुर्बल छ त्यस्तै खरीद प्रक्रिया र खरीद ज्ञानको अभावले पनि आयोजना समस्यामा पर्छ ।” त्रिभुवन विश्वविद्यालयका डीन प्रा डा कुशुम शाक्यले नेपालको अर्थतन्त्रको आधार नै पूर्वाधार भएकामा जोड दिए । “सरकारले पूर्वाधार आयोजनाको प्राथमिकीकरण र बजेट विनियोजनलाई प्रभावकारी बनाउन नसक्दा समस्या भइरहेको छ”, उनले भने ।

विनियोजित बजेट खर्च भयो भएन भन्ने जाँच गर्ने र प्रभावकारी बनाउने काम नभएको उनको भनाइ छ । आयोजनालाई जनसङ्ख्याको घनत्वलाई हेरेर पनि राख्नुपर्नेमा प्रा डा शाक्यको जोड छ । नेपाल उद्योग वाणिज्य महासङ्घका शहरी विकास समितिका सभापति मीनमान श्रेष्ठले भने अनुगमन गर्ने निकाय धेरै हुँदा काम हुन नसकेको बताए ।

“विकास आयोजनाको ठेक्कामा अग्रिम भुक्तानी दिने नियम खारेज गर्नुपर्छ”, उनले भने । पूर्वाधार आयोजना बुट (निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण) मोडेलमा निर्माण गर्नुपर्ने उनको कथन छ । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक निजी साझेदारी नीति आए पनि ऐन र नियमावली नआएको गुनासो गरे। “नीतिगत स्पष्टता र नाफा नभएसम्म निजी क्षेत्र पूर्वाधार लगानीमा आउँदैन”, उनले भने । स्वदेशी क्षमता वृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शहरी विकास विज्ञ सरिता श्रेष्ठ मास्केले पूर्वाधार निर्माण गर्नुपूर्व सबैले स्वामित्व लिनेगरी योजना बनाउनुपर्नेमा जोड दिए । “राजनीतिक नेतृत्वको दबाबमा होइन, प्रक्रियामा रहेर काम गर्ने संस्कार विकास गर्नुपर्छ”, उनले भने ।

अर्थ मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुमन दाहालले पूर्वाधार आयोजनाको अनुगमनमा न्यून अनुगमन हुँदा पनि समस्या आएको बताए । “निजी क्षेत्र र सरकारबीच विश्वासको अभावले पनि कतिपय समस्या आएको देखिन्छ”, उनले भने । योजना बैंक बनाएर काम गर्ने प्रक्रिया थालिएको भए पनि अझै प्रभावकारी हुन नसकेको उनको प्रष्टोक्ति छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकता बाहिर रहेको बताए । समयमै सम्पन्न हुने आयोजनामा पनि न्यून बजेट राख्दा वर्षौंसम्म त्यस्ता आयोजना सम्पन्न नहुन नसकेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यले स्वायत्त निकायमा पनि मन्त्रालयको दबाब र प्रभाव पर्ने र काममा अङ्कुश लगाउँदा पूर्वाधार आयोजना सबैभन्दा बढी प्रभावित भइरहेको बताइन्। विद्युत् नियमन आयोगका सदस्य भगीरथी ज्ञवालीले राजनीतिक हस्तक्षेप र सुशासनको अभावले धेरै निकायलाई अघि बढ्न रोकिरहेको तथ्य पेश गरिन् । “कतिपय अवस्थामा नीतिगत परिवर्तन गर्न धम्कीसमेत आउने गरेको छ”, उनले भनिन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖