न पति, न माइती, न नागरिकता खपिनसक्नु पीडा यसरी सुनाइन्

‘दुई छोरी मैले कसरी पालूँ ? कहाँ गएर बसूँ ? के खानु ? के लाउनु ? म त सहनै नसक्ने भइसकें।’२५ वर्षीया एक युवतीले आफ्नो खपिनसक्नु पीडा यसरी सुनाइन्। आँखाबाट खस्नै लागेको आँसु माझी औंलाले पुछ्दै भक्कानिइन्। हातमा भएको कागजको फाइलभित्र अनुहार छोप्दै निकै बेर रोइन्।

उनी सम्पर्कविहीन भएका श्रीमान्को खोजीमा रहिछन्। त्यसकै लागि कहिले प्रहरी कार्यालय धाउँछिन् त कहिले अंश अधिकार कार्यान्वयन गरिपाऊँ भनेर अदालततिर भौंतारिन्छिन्। उनको नागरिकता नहुँदा समस्या भएको छ। श्रीमान्ले बनाइदिएनन्, माइतीले बिहे भइसकेको भनेर वास्ता गरेनन्।

उनले श्रीमान्सँग अंश माग्दै २०७६ वैशाखमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्। अदालतले उनलाई नागार्जुन नगरपालिका–२ का ६० वर्षीय एक व्यक्तिकी श्रीमती ठहर गर्दै मंसिरमा अंश पाउने फैसला गरेको छ। यही फैसला कार्यान्वयन गर्न निवेदन बोकेर उनी भौंतारिरहेकी छन्।

उसो त नागरिकता नभएकाले उनको निवेदन दर्ता हुनै समय लागेको थियो। मुद्दा दर्ता भई आफ्नो पक्षमा फैसला भए पनि कार्यान्वयन गर्न गाह्रो भएको छ। उनी कहिले कुन फाँटमा जान्छिन् त कहिले कुनमा। जहाँ गए पनि उनलाई सोधिने एउटै प्रश्न हो– ‘अंश लिन नागरिकता लिएर आउनुस्।’

तर, उनको पीडा छ, ‘नागरिकता लिन कता जाऊँ ? उमेर नमिल्नेसँग बिहे गरेका कारण माइतीसँग सम्बन्ध राम्रो छैन। श्रीमान् बेखबर छन्। प्रहरी कार्यालय र अदालत धाउन थालेको तीन वर्ष हुन थाल्यो। उनको साथमा अढाई वर्षकी छोरी र दिदीपट्टिका अर्की छोरी छन्।

उनका श्रीमान् पहिले भिनाजु रहेछन्। भिनाजुका पहिली श्रीमती र परिवार पनि छन्। उनकी दिदीलाई दोस्रो विवाह गरी कोठा लिएर राखे। दाम्पत्य जीवन केही वर्ष राम्रै चल्यो। जब दिदीले छोरी जन्माइन् तब भिनाजु आफ्नो सन्तान नभएको जिकिर गर्दै तर्किन खोजे। दिदीभिनाजुको सम्बन्ध जसोतसो चल्दै थियो। दिदी एक दिन कोठामा मृत फेला परिन्।

‘मेरी दिदीलाई मारेर उसले तर आत्महत्या बनायो। उहाँको मृत्यु गुमनाम भयो’, उनले भनिन्, ‘हाल दिदीकी छोरी, मेरी छोरी र म तीन जना अधिकारका लागि लडिरहेका छौं।’

दिदीको मृत्युपछि भिनाजु छोरी भेट्न ससुराली आउने गर्थे। सालीलाई जिस्क्याउन थाले। शरीर छुने गर्न थाले। ‘म त सानै थिएँ के गरेको, किन चलेको केही थाहा हुन्थेन। उसले तिमीलाई बिहे गर्छु। म सुखले पाल्छु। घर बनाइदिन्छु भनेर मलाई लिएर गयो’, उनले भनिन्, ‘लाजिम्पाटमा कोठा खोजेर राख्यो। कोठा लिएर लामो समय शारीरिक शोषण गर्‍यो। मैले विरोध जनाउन थालेपछि सिन्दूर पोते गरेर श्रीमती बनायो।’

भिनाजुले उनलाई तेस्री श्रीमती बनाएर २०७३ साल असारमा बिहे गरे। छोरी जन्मिँदा न्वारान गर्न कोठामा पुगे। त्यसपछि श्रीमतीविरुद्ध जिल्ला अदालतमै गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए।

नाबालक उमेरमै शारीरीक शोषण गरी श्रीमती बनाए। तर, न माया दिए न त श्रीमतीले पाउने अन्य अधिकार। गर्भवती अवस्थामा उनले श्रीमान् बेखबर भन्दै हनुमानढोका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

श्रीमान्को व्यवहारबाट आजित भएकी उनी अंश हक कार्यान्वयन हुने र जिन्दगीलाई सहज बनाउने आसमा छिन्। ‘अंश दिने त भनिएको छ, फैसलामा तर कहिले हात पर्ने हो’, उनले भनिन्, ‘उमेर नमिल्ने र मलाई नाबालक उमेरमै यौनशोषण गरेको भए पनि श्रीमान् हो भनेर सहेकी थिएँ। मान्छे लगाएर मार्न तर्साउन खोज्यो मलाई। अहिले मोबाइल अफ गरेर भागेर हिँड्छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा अजवी पौड्यालले खबर लेखेकी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।