ग,र्मीयामसँगै बालबालिका अझ बढी जो,खिममा

गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् ।
गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ ।

गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ । बालबालिकालाई यस्तो रोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ । गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ ।

सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले सताउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार गर्मीमा सबैभन्दा बढी सङ्क्रमण पानीबाट हुने गर्छ । त्योसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा पनि समस्या देखापर्ने गर्छ ।

उनले भने, “गर्मीको सुरुवातसँगै झाडापखाला, टाइफाइडलगायत तराईमा सर्पको टोकाइले हुने बिरामी देखा पर्न थालेका छन् ।” गर्मी मौसममा धेरैजसो बालबालिका बिरामी हुने गरेको बताउँदै उनले भने, “गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन, त्यसले बालबालिकामा झाडापखाला, आउँ, दादुराजस्ता समस्या देखा पर्छन् । अत्यधिक गर्मीका कारण बढीजसो चिसो खानेकुरा खाने गरिन्छ, बच्चामा यसको छिटो असर पर्ने हुनाले चिसोले लाग्ने रोगको असरसमेत देखा पर्न सक्छ ।”

वायुमण्डलमा भएको धुलो र प्रदूषित पानीका कारण टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगले पनि बालबालिकालाई सताउने उनको अनुभव छ । अस्पतालको तथ्याङ्क हेर्ने हो भने जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने बिरामीको सङ्ख्या करिब दुई गुना हुने गर्छ । फोहोर तथा धुलोका कारण बालबालिकालाई चिलाउने, हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुने जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीको भनाइ छ ।

उनले भनिन्, “बाहिरको जथाभावी खाना खुवाउने कारणले पनि बालबालिकामा विभिन्न रोग आउने गरेका छन्, घरको स्वस्थ खाना खुवाउने, पानी प्रशस्त मात्रामा दिन सक्यो भने रोगसँग लड्ने क्षमता विकास हुन्छ । सादा पानी मात्र खान सक्दैनन् भने अलिकति कागती पनि हाल्न सकिन्छ ।”

काठमाडौँमा वायु प्रदूषणको डरलाग्दो अवस्था देखिएसँगै छालासम्बन्धी रोग बढ्ने सम्भावना छ । गर्मी मौसममा बढी पसिना आउने भएकाले बाहिर उडेको धुलो मानिसको छालामा टाँसिन्छ । यसले गर्दा छालामा एलर्जी हुने, चिलाउने, फोका उठ्ने र खटिरा आउनेजस्ता समस्या देखापर्ने डा. उप्रेतीको भनाइ छ । उनले भनिन्, “बालबालिकाले नाइलन, पोलिस्टरभन्दा पनि सुती र सिल्कजस्ता कपडा लगाउनुपर्छ ।”

उनका अनुसार जौ वा गहुँको सातुको सर्बत, बेल तथा चिसो मिठो लस्सी आदि पिउनुपर्छ । खानामा भात, जौ वा गहँुको रोटी, मुगी वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चटनी, काँक्रो आदिको सलाद खानु राम्रो हुन्छ ।

कसरी बच्ने ?
बालरोग विशेषज्ञ डा. जुन डङ्गोल भन्छन्, “गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्नुका कारणमा दूषित खानपान तथा पानी नै हो । त्यसैले बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी प्रयोगमा ल्याउनु हुँदैन ।”

यो मौसममा झिँगा, लामखुट्टे, फट्याङ्ग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए ।

पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिने बताउँदै डा. डङ्गोलले भने, “यो मौसममा रोग फैलिने हुनाले यी सबै बिरामीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी पिउनु जरुरी छ । हल्का, खुकुलो र छरितो लुगा, सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग आवश्यक छ ।”

बजारमा पाइने पानीपुरी, चटपटे आदि खुला खानेकुरा बालबालिकामा लोकप्रिय छ, यस्ता खानाबाट बचाउन घरबाटै खाजाको व्यवस्था गरे राम्रो हुने बताउँदै उनले यस्ता खानेकुरा खाँदा पेट दुखेर पखाला र बान्ता हुने जानकारी दिए । फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुने हुँदा समय–समयमा हातखुट्टा धुनुपर्ने उनले बताए ।

पोषणविद् डा. उप्रेतीका अनुसार गर्मी मौसममा धेरै खाए अपच हुने हुन्छ । त्यसैले एकै पटक धेरै खानेकुरा नखाने बिस्तारै समय–समयमा थोरैथोरै खाइरहनुपर्छ । बरफयुक्त र गुलियो पेयले झन् छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु उपयुक्त हुन्छ । गोरखापत्र दैनिकमा ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।