सूर्यबहादुर थापाको स्मृति दिवस : छोराले भुले, भतिजले सम्झिए

अनिता भट्टराई, धनकुटा । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा नेपाली कांग्रेसमा प्रवेश गरे पनि भतिज कुमारबहादुर थापाले जिल्लामा नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने धनकुटामा स्मृति दिवस मनाएको छ ।

पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री थापाको छैठौं स्मृतिको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । जिल्ला अध्यक्ष कुमार बहादुर थापाले धनकुटाको विकासमा स्व. थापाले दिएको योगदानको चर्चा गर्दै धनकुटाले स्व. थापालाई कहिले भुल्नु नहुने बताए ।

बिहीबार भएको सो कार्यक्रममा राप्रपाको केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा प्रदेश समिति अध्यक्ष रामबहादुर थापा, केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा प्रदेश सचिव बासुदेव भट्टराई, केन्द्रिय सदस्यहरु टीकाप्रसाद घिमिरे, रेवतीराम भण्डारी, तेजबहादुर बिष्ट, श्याम गुरुङ, सानुमाया तामाङ, धनकुटाका बरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पा, दमक नगरपालिकाका मेयर हेम सुवेदी, धनकुटा नगर अध्यक्ष पृथसिंह गोम्देन, पाखिबास नगर अध्यक्ष रामजी बस्नेत लगायतलेसधैं स्व. थापा धनकुटाका पिता भएकाले कहिले पनि थापालाई बिर्सन नहुनेमा जोड दिए ।

सो कार्यक्रममा इन्दिरा भण्डारी र नमुना राईले खादा ओढाएर सम्मान गरेका थिए भने कार्यक्रम जिल्ला अध्यक्ष कुमार बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

छोराले भुले, भतिजले सम्झिए

पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई धनकुटाका पितासमेत भनिन्छ । तर, उनको मृ,त्यु भएको पाँच वर्ष पुग्दा नपुग्दै धनकुटाले थापालाई भुल्न थालेको छ । यतिसम्मकी उनकै छोरा सुनीलबहादुर थापाले आफ्नो बुबाले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेपछि त झन स्व. थापाले धनकुटालाई दिएको योगदान एकादेशको कथा जस्तै बन्न थालेको छ ।

धनकुटाको साविकको मुगा –४ मा विक्रम सम्बत १९८४ चैत ९ गते जन्मिएकास्व. थापा सूर्यबहादुर थापाको २०७२ साल बैशाख २ गते भारतमा निधन भएको थियो । उनको मृत्युसँगै देशले एक राजनेता मात्रै गुमाएन, सिंगो धनकुटाले अभिभावक नै गुमायो ।

थापाको निधनपछि जव जव धनकुटामा आन्दोलन हुन्छ, त्यही बेला धनकुटेलीले थापालाई स्मरण गर्छन् । त्यसमा पनि प्रदेश राजधानीको आन्दोलन चलिरहँदा थापाको अभाव धनकुटाले महसुस मात्र गरेन, थापा भइदिएको भए प्रदेश नं. १ को राजधानी धनकुटा बन्ने बुझे ।

२०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन् । प्रजातन्त्र पुनस्र्थापनापछि नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नु भएका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री बने ।

छर–छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिनु हुन्थ्यो । उनी जीवन भर नै राजनीतिमा निकै सक्रिय बने ।

उनको मृ,त्यु भएको पाँच वर्ष पूरा भएको छ । यो अवधीमा राजनीतिक उतार चढाव हुँदा पनि आफ्नो राजनीतिक विरासतलाई जोगाउन उनका छोरा असफल बनेको धेरैको टिप्पणी छ । उनका छोरा सुनीलबहादुर थापाले आफुलाई बाबुको बिडो थाम्ने बताइरहे पनि स्व. पिताको स्मृति दिवस बनाउनसमेत आँट नगर्दा स्व. थापाको अपमान भएको जिल्लामा चर्चा चलेको छ ।

सुनीलबहादुर थापाले आफ्ना पिताको सराद्ध गर्नेबाहेक स्मृति दिवस मनाउन कुनै चासो देखाएनन् । उनले नेपाली कांग्रेसमा प्रवेश गर्दा बाबुको विरासत जोगाउन कांग्रेस प्रवेश गरेको बताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।