अपडेट : पाख्रीबासमा फेला परेको दुई वटा शवको पहिचान खुल्यो
शर्मिला राई/धनकुटा,२१ बैशाख । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ राम्चे डाँडा नजिकको जंगलमा फेला परेको दुई वटा शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी सन्तुलाल जैसवालका अनुसार उनिहरु पाख्रीवास नगरपालिकाकै वडा नं ६ तिल्केका २२ वर्षका सुनिल थापा र २० वर्षका सिर्जना गुरागाई रहेका छन् । उनिहरु श्रीमान-श्रीमती रहेको डिएसपी जैसवालले वताउनुभयो ।
दुईवटा शव मध्ये सुनिलको शव रुखमा झु’ण्डिएको र सिर्जनाको शव भुँईमा लडिरहेको अवस्थामा एकै ठाउँ फेला परेको थियो । घटना स्थल र शव को अवस्था हेर्दा घटना दुई दिन अघि कै हुन सक्ने प्रहरीको अनुमान छ ।
उनिहरुको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको डिएसपी जैसवालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारी,डिएसपी जैसवाल सहितको टोली घटना स्थल पुगी आवश्यक प्रक्रिया पुरा गरि उनिहरुको शव पोष्टमार्टमका लागि ल्याईएको हो ।
उनिहरु केही दिन अघि नै घरबाट निस्किएको पाईएको र घटनाको वारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


