संक्रमितको आत्मबल बढाउन घरमै पुगेर भेट्दै नगरप्रमुख र उपप्रमुख
धनकुटा,जेठ ८ । कोरोना संक्रमितको आत्मबल बढाउँन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगेर भेट्न थालेका छन् ।
होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर उनीहरुलाई स्वास्थ्य परामर्श दिदैं रोग सँग लड्ने आत्मावल बढाउँन जनप्रतिनिधिहरु संक्रमितहरुको घर–घर पुग्न थालेका हुन् । उनीहरुले संक्रमित सँग भौतिक दूरी कायम गरी भेट गरेर खानेकुरा र स्वास्थ्य सामाग्री पनि दिने गरेका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा धेरै संक्रमितहरु घर–घरमै ‘होम आइशोलेशन’ बसिरहेकाले संक्रमितहरुको घरमा पुग्ने र उनीहरुलाई रोग सँग लड्न हौसला प्रदान गर्ने अभियान चलाइएको महालक्ष्मी नगरपालिकाका मेयर नेपालले बताउनु भयो ।
संक्रमितहरुलाई भेट्ने क्रममा उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गर्ने, सावधानी अपनाउँनुपर्ने कुरा स्वास्थ्यकर्मीहरु मार्फत बताउँन लगाउँने र औषधि, स्वास्थ्य सामाग्री सहित केही खानेकुरा पनि दिने गरिएको मेयर नेपालको भनाई छ । यसले गर्दा संक्रमितहरुमा निराशा कम भई हौसला र रोग सँग लड्ने आत्मावल बढ्छ भन्ने ठानेर यो अभियान चलाएको उहाँले वताउनुभयो ।
उनीहरुले हरेक संक्रमितका घरमा पुगेर संक्रमितहरुलाई डावर च्यवनप्राश, हर्लिक्स, सेनिटाइजर, केही थान मास्क र आवश्यक औषधि प्रदान गर्ने गरेका छन् । हाल महालक्ष्मीमा ३३ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महालक्ष्मी नगरले बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । त्यस्तै, संक्रमितका लागि जितपुरमा अक्सिजन सहितको आइसोलेशन सेन्टर बनाइएको छ ।
संक्रमितलाई अस्पताल पुयाउँन एम्बुलेन्सको निःशुल्क व्यवस्था पनि मिलाइएको छ । नगरबासीमा कोरोना संक्रमण पुष्टि भई गम्भिर अवस्था भएर आइसोलेशनमा उपचार गराउँनु परेमा २५ हजारका दरले आर्थिक सहयोग पनि उपलब्ध गराइदै आएको मेयर नेपालले जानकारी दिनुभयो ।


