सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’

धनगढी,डा गगन चौधरी राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै निदाए मात्रै हो नत्रभने अवस्था छैन । उहाँ कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोनाका बिरामीको चाप बढेसँगै उहाँको खटाइ सामान्य अवस्थामा भन्दा धेरै भएको छ आजभोलि ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर भन्ने बित्तिकै सुगम जिल्लाका रूपमा बुझ्ने गरिन्छ तर यही सुगम जिल्लाको पनि दुर्गम र पछाडि पारिएको ठाउँ हो दोधारा चाँदनी । महाकालीपारिको गाउँका नामले परिचित यस ठाउँमा भएको महाकाली नदी नेपाल भारतको सिमाना पनि हो । विश्वभर महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले सुदूरपश्चिममा आक्रामकरूपमा सङ्क्रमितहरूको सङ्ख्या बढाइरहेको अवस्थामा करिब ११ भन्दा बढी अनौपचारिक नाका भएका कारण उच्च जोखिममा रहेको दोधारामा दिनरात नभनी सेवा प्रदान गरिरहनुभएका डा चौधरी सो क्षेत्रमा ‘हिरो’का रूपमा परिचित हुनुहुन्छ ।

पहिलो चरणको कोरोना सङ्क्रमणका बेला चौधरी कार्यरत दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्यभन्दा सामान्य स्वास्थ्य सामग्रीको अभाव थियो । त्यस्तो बेला डा चौधरीले प्लास्टिकको पिपिइ बनाएर भए पनि सङ्क्रमितको उपचार गरेको सम्झनुहुन्छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी । वर्षौँसम्म चिकित्सक नपाएका सुगमको दुर्गम ठाउँ दोधाराका जनताले करिब चार वर्षअघि डा चौधरीलाई आफ्नो स्वास्थ्य केन्द्रमा पाएका थिए । डा चौधरीले पनि त्यहाँ बसेर सेवा दिन शुरु गर्दा दर्दनाक अवस्थामा रहेको स्वास्थ्य केन्द्र अहिले सुधारोन्मुख छ ।

सामान्य उपचारका लागि पनि भारतीय मेडिकल जानुपर्ने दोधाराका जनताले अहिले डा चौधरी जस्ता व्यक्तिका कारण आफ्नै ठाउँमा औषधि उपचार पाएका छन् । दोधारा चाँदनीबासीलाई राज्य भएको अनुभूति भएको छ । चिकित्सक नहुँदा १० जना नआउने स्वास्थ्य केन्द्रमा डा चौधरीले दैनिक १५० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाल्नुभयो । त्यति बेलादेखि नै डा चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा हिरो बन्नुभयो । पहिलो चरणको कोरोनाको लडाइँमा उहाँको खटाइको सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट उहाँलाई ‘कोभिड हिरो’ ले सम्मान पनि गरिएको निर्देशक अवस्थी बताउनुहुन्छ ।

सम्झौताअनुसार छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्नेले कम्तीमा दुई वर्ष सरकारले खटाएको ठाउँमै काम गर्नुपर्ने हुन्छ । डा चौधरीले भन्नुभयो, “मेरो पनि दोधारा चाँदनीमा दुई वर्ष मात्रै बस्ने योजना थियो तर यहाँ आइसकेपछि यस क्षेत्रका जनताले सामान्यभन्दा पनि सामान्य औषधि उपचार गर्न नपाएको पिडा देखेर यतै सेवामा लागिरहेँ, दोधारा चाँदनी छाडनै नसक्ने भएँ ।”

महाकालीपारि भन्ने बितिक्कै अन्य क्षेत्रका कर्मचारी पनि जान रुचाउँदैनन् । चिकित्सकको त यहाँ प्राय अभाव नै भइरहन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सककै दरबन्दी भए पनि प्राय खाली नै हुन्थ्यो तर पछिल्लो चार वर्षदेखि यस क्षेत्रमा बसेर सेवा दिइरहँदा यो ठाँउ पनि आफूलाई आफ्नै लाग्न थालेको उहाँको भनाइ छ ।

खुल्ला सिमाना भएका कारण अहिलेको परिस्थितिमा आफूहरूका लागि निकै चुनौती भए पनि आफ्नो कर्म धर्म सबै जनताको सेवा गर्नु नै ठानेर काम गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रमा पहिलो चरणको कोरोना फैलँदा पिपिइ, मास्कजस्ता सामान्य कुराहरूको अभाव भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको तर अक्सिजनको अभाव भने कायमै रहेको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।