महामारीमा नगरपालिकाको एम्बुलेन्स थन्कियो,संजालमा टिप्पणी भएपछि बल्ल निकालियो सुचना
धनकुटा । महिलाहरुको प्रसुती अवस्था, “क” वर्ग का अपाङ्गता तथा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई थप सजिलो गराउने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिकाले खरिद गरेको एम्वुलेन्स यस कोरोना महामारीका बीच पनि केही दिन यता प्रयोग विहिन बनेको छ ।
यस महामारीमा स्थानिय जनताहरुलाई अझ शसक्त रुपमा सेवा प्रदान गर्नु पर्ने एम्बुलेन्स सेवा जस्तो अवरुद्द हुंदा सामाजिक सन्जालभरि निक्कै प्रखर आलोचना भएपछि आधारभूत अस्पतालले आजै मात्र सुचना जारी गर्दै एम्बुलेन्सका चालक बिरामी भएको र अर्को चालकको लागि पनि खोजी भइरहेको जनाएको छ ।
नगरको “जिरो होम डेलिभरी” शिर्षकको कार्यक्रमको उद्देश्य हाँसिलका लागि नगरले गत आर्थिक वर्ष २०७६/७७ को नगरको योजना तथा कार्यक्रम भित्र कै १० लाख वजेट मार्फत एम्वुलेन्स खरिद गरिएको थियो ।
यस विषयमा थप बुझ्न स्वास्थ्य इन्चार्जलाई सम्पर्क गर्न खोज्दा वहॉं संग फोनमा सम्पर्क हुन सकेन ।
यस बारेमा थप जानकारीका लागि नगर प्रमुख बिर्ख बहादुर राई संग सम्पर्क गर्दा भोलिबाट एम्बुलेन्स सेवाका साथमा गर्भवती महिलाहरुलाई लक्षित गर्दै को १ झ ५२० को बोलेरो गाडी उपलब्ध हुने बताउनु भयो ।
पाख्रीबास आधारभूत अस्पतालका प्रमुख डा.अंकित शर्माले एम्बुलेन्सको बैकल्पिकको रुपमा केही टेम्पोहरुलाई पनि नगरपालिकामा दर्ता गराएर कोभिड लक्षण भएका बिरामीहरुलाई बोक्नको लागि पहल भइरहेको र भोलिबाट गर्भवती महिलाहरुका लागि को १ झ ५२० बोलेरो प्रयोगमा ल्याइएको तर र त्यही गाडी कोभिड लक्षणका बिरामीलाई बोक्नको लागि प्रयोग गर्नका लागि आफुलाई आधिकारिक रुपमा कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।




