पालिकामा अक्सिजनसहितका आइसोलेशन
बागलुङ, सीमित स्रोत साधनका बावजुत पनि यहाँका स्थानीय तह कोरोना महामारीकाविरुद्ध जुधिरहेका छन् । सङ्क्रमण रोक्न स्वास्थ्य सचेतना फैलाउनेदेखि रोकथाम र उपचारमा आफ्नो बुताले भ्याएसम्म लागिपरेका छन् ।
गाउँ–गाउँमा सङ्क्रमण तीव्र बनेपछि सुविधायुक्त आइसोलेशन निर्माणमा स्थानीय तहसँग देश विदेशका सहयोगी संस्था/व्यक्तिले समेत हातेमालो गरिरहेका छन् । बडिगाड गाउँपालिकाले सोमबारदेखि अक्सिजनसहित १० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा ल्याएको छ ।
आइसोलेशनमा आठ वटा कन्सन्ट्रेटर, ठूलो–सानो गरी २४ वटा अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणी कँडेलले जानकारी दिनुभयो । “आइसोलेशन त पहिले नै बनेको हो, अक्सिजनसहित सुविधा अहिले थप भएको छ”, उहाँले भन्नुभयो, “अब अक्सिजन चाहिने सङ्क्रमितको उपचार यहीँ हुन्छ ।”
उच्च मात्रामा अक्सिजन चाहिने जटिल अवस्थाका सङ्क्रमितलाई भने अस्पताल पठाइने प्रमुख कँडेलले बताउनुभयो । स्थानीय त्रिभुवन नमुना माध्यमिक विद्यालयमा सञ्चालित उक्त आइसोलेशन केन्द्रमा एक जना मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मी र सहयोगी खटिएका छन् ।
सङ्क्रमितलाई आइसोलेशनसम्म ल्याउन र अस्पताल पठाउनुपर्ने भएमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । अक्सिजन सिलिण्डर, शय्यालगायत स्वास्थ्य सामग्री खरिदका लागि प्रवासमा रहेका बडिगाडवासीले रु १३ लाखबढी आर्थिक सहयोग गरेका थिए ।
समुदायमा सङ्क्रमण फैलिएर मानिसको ज्यानै जान थालेपछि उपकरण र स्वास्थ्य सामग्रीको जोहोका लागि आर्थिक अभियान नै चलेको थियो । बडिगाड–४, २, ५ र ७ मा कोरोना सङ्क्रमण बढी छ । दश दिनको अन्तरालमा वडा नं ४ का चार जनाले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको थियो ।
“हाल गाउँपालिकाभरिमा ३० जना सक्रिय सङ्क्रमित हुनुहुन्छ, सङ्क्रमण फैलने क्रम रहे पनि नियन्त्रणबाहिर भने छैन”, प्रमुख कँडेलले भन्नुभयो, “अझैँ दुई सातासम्म कडाइ गरियो भने महामारी रोकथाममा धेरै सुधार हुने देखिन्छ ।” गत वैशाख दोस्रो सातातिर भएका विवाहका कारण जलजलालगायत गाउँमा सङ्क्रमण फैलिएको थियो ।
अस्पतालमा शय्या र अक्सिजन पाउनै कठिन हुनथालेपछि स्थानीय तहले अक्सिजनसहित आइसोलेशन निर्माणमा जुटेका हुन् । ताराखोला गाउँपालिकामा पनि १५ शय्याको अक्सिजनजडित आइसोलेशनकक्ष सञ्चालित छ । ताराखोलामा हाल सात जना मात्र सक्रिय सङ्क्रमित रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताउनुभयो ।
जेठ भित्रमा ताराखोलालाई शून्य सङ्क्रमणमा पु¥याउने लक्ष्यसहित रोकथाम र नियन्त्रणका काममा लागिएको उहाँको भनाइ छ । जिल्लाका अन्य स्थानीय तहले पनि आइसोलेशनलाई सुविधायुक्त बनाउँदै लगेका छन् । दोस्रो लहरको कोरोना तीव्ररुपमा फैलने र सङ्क्रमितमा स्वासप्रस्वासको समस्या बढी देखिन थालेपछि अक्सिजन चाहिन थालेको हो ।
जिल्लामा दैनिक सयको हाराकारीमा सङ्क्रमित थपिने गरेका छन् । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार आइतबारसम्मको आँकडाअनुसार जिल्लामा सक्रिया सङ्क्रमितको ७८८ छ । समुदायस्तरमा व्यापकरूपमा कोरोना फैलिएको उहाँको भनाइ छ ।
परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिसतसम्ममा कोरोना सङ्क्रमण पुष्टि हुने गरेको प्रमुख गुरौले बताउनुभयो । “निषेधाज्ञाले सङ्क्रमण अनियन्त्रित हुन पाएको छैन, फैलने क्रम केही कम हुँदै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सुक्ष्म योजना बनाएर काम थालेका छन् ।”
रोपाइँमा सजगता अपनाउन आग्रह
कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन ।
महामारीकै बेला वर्षे बाली लगाउने समय शुरु भएपछि गलकोट नगरपालिकाले किसानलाई विशेष सजगता अपनाएर खेतबारीमा काम गर्न आग्रह गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले रोपाइँलगायत खेतीपातीका काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना आग्रह गरेको छ ।
खेतमा काम गर्दा अनिवार्यरूपमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपातीको काम गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।
रोपाइँमा धेरै किसानको जमघट र आउजाउ हुँदा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले सजगता अपनाउन भनिएको हो ।


