कोरोना संक्रमितलाई हौसला दिंदै जनप्रतिनिधी
सुनिता राई/धनकुटा,१२ असार । नयाँ भेरियन्ट सहितको कोरोना भाइसरको संक्रमण भई होम आईसोलेसनमा बसेका बिरामीहरुका घर–घरमा पुगेर गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधीहरु स्वास्थ्य सामाग्री र पौष्टीक आहार लिएर आए पछि कोरोना संक्रमित बिरामीहरुले सिंहदरबार गाउँघरमै आएको महसुस भएको बताएका छन् ।

पालिकाका प्रमुख तथा अध्यक्ष लगायत पालिका कर्मचारी,स्वास्थ्यकर्मी वडा अध्यक्षहरुको टोली संक्रमितको घर घर मै पुगेर स्वाथ्य अवस्था जानकारी लिएको र स्वाथ्य सुरक्षामा ध्यान दिन भन्दै आए पछि आफूहरु लाई आफूले जिताएर पठाएका जनप्रतिनिधीहरुले बिर्सेका रहेनछन् भन्ने लागेको धनकुटा नगरपालिका वडा न ५ का एक कोरोना संक्रमितले बताउनु भयो ।
जनप्रतिनिधी नै आएर सुरक्षित रहेर आफ्नो स्वास्थ्यको ख्याल गर्न र आबश्यक परेमा पालिकासंग सहयोग माग्न तथा स्वाब परिक्षण गर्न आउन आग्रह गर्दै पालिकाका प्रमुख तथा अध्यक्ष लगायत पालिका कर्मचारी,स्वास्थ्यकर्मी वडा अध्यक्षहरुको टोली घर मा आउँदा साँचिकै सिंहदरवार गाउँ गाउँ आएको महसुस भएको छथरजोरपाटी गाउँपालिकाका एक संक्रमितले बताउनु भयो ।
आफूहरु लाई स्थानिय जनताले नै निर्वाचित गरेकोले उहाँहरुको सुख दु:खमा साथ दिनु आफूहरुको कर्तव्य भएको धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शूराम नेपालले बताउनु भयो ।
कोरोना संक्रमण बढ्दै जाँदा धेरै संक्रमितहरु घर–घरमै ‘होम आइशोलेशन’ बसिरहेकाले संक्रमितहरुको घरमा पुग्ने र उनीहरुलाई रोगसँग लड्ने हौसला प्रदान गर्ने अभियान चलाइएको महालक्ष्मी नगरपालिकाका मेयर नेपालको भनाई छ ।
‘अहिले अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्नु भएको छ । उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा स्वयंसँग सोधपुछ गर्ने, सावधानी अपनाउँनुपर्ने कुरा स्वास्थ्यकर्मीहरुमार्फत बताउँन लगाउँने र उहाँहरुलाई औषधि, स्वास्थ्य सामाग्रीसहित केही खानेकुरा पनि दिने गरेका छौं,’ यसले गर्दा संक्रमितहरुमा निरासा कम भई हौसला र रोगसँग लड्ने आत्मावल बढ्छ भन्ने ठानेर यो अभियान चलाएका हौं ।


