संसद् दिवस ,संसद्लाई जीवन्त र जनमुखी बनाउन जोड

काठमाडौँ, कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो ।

उक्त ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन मनाउने गरिन्छ । उक्त निर्वाचनको सम्पूर्ण परिणाम २०१६ साल वैशाख २८ गते आइसके पनि दरबारले अनेकौँ जालझेल गरी असार १६ का लागि मात्रै सदन आह्वान गरेको थियो । त्यो दिन राति ११.४५ बजेका लागि आह्वान गरिएको बैठक ठीक १२ बजे मध्यरातमा आरम्भ गरिएको थियो ।

जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वाेच्चतम शासन व्यवस्थाका रुपमा संसदीय शासन प्रणालीलाई लिइन्छ । अघिल्लो वर्ष पनि कोरोनाकै कारण सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त विज्ञप्तिमार्फत सम्पूर्ण नेपालीमा संसद् दिवसको बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिनिधिसभा विघटनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमले यस पटक भने सभामुख र अध्यक्षकै विज्ञप्ति पनि संयुक्तरुपमा आउन सकेन । सभामुख र अध्यक्ष दुवैले जिम्मेवारी सम्हाल्नुअघि नै आफूहरुको कुनै राजनीतिक दलसँग संलग्नता र सदस्यता नरहेको भनी घोषणा गरे पनि राजनीतिक घटनाक्रमले अहिले उहाँहरु आआफ्नो पूर्व राजनीतिक दलसँगै उभिएको देखाएको छ ।

दुई दशकदेखि पूर्वसांसद मञ्चले सङ्घीय संसद् सचिवालयसँगको समन्वयमा विभिन्न अन्तरक्रिया, चियापान र शुभकामना कार्यक्रम गरी संसद् दिवस मनाउने गरेको थियो । पछिल्ला दुई वर्षयता भने कोभिड–१९ को संक्रमण जोखिमले त्यो सम्भव हुन सकेन । त्यसमा यस वर्ष नेकपाको आन्तरिक कलहबाट सिर्जना भएको राजनीतिक संक्रमणले पनि मलजल गरेको देखिएको छ ।
अघिल्लो वर्ष सभामुख र अध्यक्षले दिएको संयुक्त विज्ञप्तिमा राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी रहेको उल्लेख थियो ।

सभामुख सन्देश

सभामुख अग्निप्रसाद सापकोटाले संसद् दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा प्रतिनिधिसभाको पटकपटकको विघटनले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता हो ।

सभामुख सापकोटाले संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती सङ्घर्ष र आन्दोलनका बलमा निर्मित संविधानअनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका योद्धाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

संसद् दिवस मनाउँदै रहँदा चौतर्फी संकट बेहोरिरहेको तथा कोभिड संकट जारी रहँदा यसबीचमा संघीय संसद्, प्रतिनिधिसभा दोस्रो पटक विघटन गरिएको जनाउँदै सभामुख सापकोटाले गहिरिँंदो राजनीतिक संकटका बीच मौसमजन्य विपत्तिको पनि सामना गरिएको बताउनुभएको छ । सभामुख सापकोटाले भन्नुभएको छ, संसद् दिवसले संघीय संसद् सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।