भन्सारले उठायो रु साढे तीन अर्ब

रसुवा,नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो ।

आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधनसमेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ ।

विगत वर्ष २०७६÷७७ मा भन्सार शुल्कबापतको राजस्व रु आठ अर्ब २७ करोड ७७ लाख असुली भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीनबीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन् ।

कोरोनाकै कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारीबीचको समन्वयबाट १५ कन्ट्रेनरलाई पुग्ने मात्र सामान आयात भइरहेको छ ।

शुरु शुरुमा पाँच÷सात डिब्बा मात्र सामग्री आउने गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले जनाएको छ । निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी भन्सार कर्मचारी, सुरक्षा अङ्गसमेतका राष्ट्रसेवक कर्मचारीका साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।