हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन

३ साउन,कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।

लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेको प्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अठसठ्ठी दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारी साधन सञ्चालनमा कडाइ हुन सकेन । फलतः पाँचथरमा कोरोना सङ्क्रमण दर कम हुनसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार शुक्रबार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखियो । बिहीबार २६ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै बुधबार ४९ जनाको एन्टिजेन परीक्षणमा २६, मङ्गलबार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१, सोमबार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २१, आइतबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसरी समग्रमा यस हप्ता ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर ३९.६२ प्रतिशत देखिन्छ । समग्र मुलुकभरिमा सङ्क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाख १८ गतेदेखि गत शुक्रबारसम्म छ हजार ८९७ वटा एन्टिजेन र एक हजार ११० वटा पिसिआर गरी कूल आठ हजार सातवटा परीक्षण गरिएको छ । सोमध्ये कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमणको अवस्था चुनौतीपूर्ण रहे पनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ । यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ । मानवीय चहलपहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुला छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि मध्याह्न १ बजेसम्म भीडभाड हुने स्थानबाहेक अन्य सेवा सञ्चालन गर्ने भनिए पनि त्यसको पालना हुनसकेको छैन । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्क्रमणदर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्क्रमण झनै फैलने खतरा देखिएको हो ।

निषेधाज्ञा खुकुलो हुनेबित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाड्ने तथा सङ्क्रमण हटेको बुझ्ने प्रवृत्तिले समस्या बढाउँदै लगेको हो । लापरवाहीको परिणाम व्यवहारमा देखिन थालिसकेको छ । तमोर तटीय क्षेत्रमा पर्ने जिल्लाको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाको तीनघरे र निगाले टोलमा बिहीबार र शुक्रबार मात्रै ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्यत्रजस्तै यहाँ पनि टोलका अधिकांश घरमा सङ्क्रमित फेला पर्न थालेका हुन् । जिल्लाको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गएका चार दिनमा ३० जनामा तथा हिलिहाङ–६ भारपामा शनिबार मात्रै छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

“सङ्क्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्लावासीको सबैभन्दा ठूलो भूमिका छ”, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरिदिए मात्रै सहज हुन्छ ।” उपचारात्मक व्यवस्थालाई संवद्र्धन गर्न सरकारी तथा गैरसरकारी निकायले भरमग्दुर प्रयत्न गर्दै आएको उल्लेख गर्दै प्रजिअ ढकालले नागरिकस्तरबाट समेत महामारी नियन्त्रणको अभियानमा उत्तिकै सहयोग हुनुपर्ने बताउनुभयो । निषेधज्ञा खुकुलो भए पनि सङ्क्रमण भने नघटेको कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नादरमुनि सुवेदी क्वारेन्टिन र आइसोलेशनको उपयुक्त प्रबन्ध नहुँदा सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण भएको बताउनुहुन्छ । “सङ्क्रमितलाई होमआइसोलेशनमा राख्ने व्यवस्था प्रभावकारी नहुँदा सङ्क्रमण फैलन मद्दत गरेको पाइन्छ”, शुक्रबार आयोजित एक अन्तक्र्रियामा सुवेदीले भन्नुभयो, “कोभिड–१९ को पहिलो लहरमा जस्तै क्वारेन्टिनको प्रबन्ध गर्न सकिएको भए गाउँगाउँमा सङ्क्रमण फैलने थिएन ।” आर्थिक वर्षको समाप्तिमा बढेको मानवीय गतिविधिले सङ्क्रमणको फैलावटमा झनै वृद्धि गर्ने सरोकारवालाको चिन्ता छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।