झापामा वरपीपल बचाउन नर्सरी अभियान

झापा, ७ साउन,शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लाग्नुभएको छ ।

‘वरपीपल बा’ भनेर चिनिँदै आउनुभएका उहाँले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आउनुभएको छ । निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उहाँले सित्तैमा उपलब्ध गराउनुहुन्छ । तर, बिरुवा लैजानेले हुर्काउन नसकेर बिरुवा मरेको थाहा पाएमा उहाँले प्रतिबिरुवा रु एक हजार जरिवाना तिराउने बताउनुभयो ।

विगत तीन वर्षमा उहाँको निजी नर्सरीमा पाँच हजारभन्दा बढी वर, पीपलका बिरुवा हुर्किसकेका छन् । बचाऊ अभियान भएको कारण बिरुवा लैजानेसँग पैसा नलिएको उहाँको भनाइ छ । यहाँ उत्पादित वरपीपललगायतका बिरुवा झापाका विभिन्न स्थान, ताप्लेजुङ, पाँचचर, भोजपुर, बागलुङसमेत पुगेका छन् ।

अन्य बिरुवाजस्तो वरपीपलको नर्सरी सञ्चालन सजिलो छैन । वरपीपलको बिजन नउम्रिने हुँदा मान्छेको घर, जङ्गलका रुख, ढुङ्गाका काप आदिबाट खोजेर ल्याइएका बिरुवालाई नर्सरीमा मेहेनतका साथ हुर्काउन पर्दछ । “वरपीपलका दाना चराले खाएर बिस्ट्याएको अप्ठ्यारो स्थानमा मात्र नयाँ बिरुवा उम्रिन्छ”, उहाँले भन्नुभयो, “मान्छेको घरको छत, रुखका काप, ढुङ्गाको कापमा उम्रिएका बिरुवा खोजेर नर्सरी बनाएको छु ।”

उहाँले जिल्लाभरिबाट सङ्कलन गरेर ल्याएको बिरुवा प्लाष्टिकको बट्टामा माटो, मल भरेर नर्सरी बनाउने गरेको बताउनुभयो । यसरी एउटा बिरुवा हुर्काउनका लागि रु ५०० सम्म खर्च लाग्ने गरेको छ । “व्यापार र नाफा गर्ने उद्देश्यले गरेको होइन, हिन्दू धर्ममा वरपीपललाई भगवान् मानिन्छ । यसको जर्गेना गर्दा आत्मसन्तुष्टि मिल्छ”, उहाँको भनाइ छ ।

वरपीपलको नर्सरी नै स्थापना गरेर निःशुल्क वितरण गर्दै आएपछि सराहना गर्दै डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०७७÷७८ मा उहाँलाई रु ५० हजार अनुदान दिएको थियो । उहाँले नर्सरीको सम्पूर्ण खर्च निजी स्रोतबाट व्यहोर्दै आउनुभएको छ ।

पछिल्लो समय सडक, मठमन्दिर र सार्वजनिक स्थानमा लगाइएका वरपीपलका बोटहरु मासिँदै गएका छन् । पुर्खाले धर्मकर्मको सोचले हुर्काएका वरपीपल चौतारी मासिँदै गएका छन् । वरपीपलले पर्यावरणीय सन्तुलन कायम गर्ने, अत्यधिक अक्सिजन उत्पादन गर्ने र हरियाली कायम राख्ने हुँदा मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिने डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ओम भट्टराईले बताउनुभयो ।

उहाँले जिल्लाका सामुदायिक वनहरुलाई समेत वरपीपलका बिरुवाहरु रोप्न आग्रह गरिरहेको बताउनुभयो । “अन्य जातका बोट बिरुवाका तुलनामा ठूलो र हरियाली हुने हुँदा धेरै चराचुरुङ्गीको बासस्थान र खानाको स्रोत हो पनि हो”, उहाँले भन्नुभयो, “यस्तो बहुमूल्य र बहुउपयोगी बिरुवा बिजनद्वारा नउम्रिने हुँदा वनले अनुदान नै दिएर अभियन्ता कटुवाललाई प्रोत्साहन गरेका हौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।