चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे

१० साउन,नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा ९० हजार २२६ ले कमी आएको छ । निकुञ्जमा गत आवमा ९२ हजार २०९ पर्यटक मात्रै घुम्नका लागि आएका अधिकारीले बताउनुभयो ।

त्यस्तै अघिल्लो आव २०७६÷७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेको अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने बाह्य पर्यटकको सङ्ख्या ज्यादै नै न्यून भएको अधिकारीले बताउनुभयो ।

गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । गत आवमा कोरोना सङ्क्रमण त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको अधिकारीले बताउनुभयो ।

“निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लगभग बराबर जस्तै छ”, अधिकारीले भन्नुभयो, “तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बाह्य पर्यटकको सङ्ख्या नगन्य मात्रामा आएको देखिन्छ ।” निकुञ्जमा अघिल्लो आव २०७६÷७७ मा ८९ हजार ४४१ आन्तरिक पर्यटक आउँदा सार्क मुलुकबाट १४ हजार २३९ तथा विदेशी मुलुकबाट ७८ हजार ७५५ पर्यटक आएका अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ६५३ महिला तथा ५१ हजार ७८८ पुरुष थिए । त्यस्तै सार्क मुलुकबाट छ हजार ६७ महिला र आठ हजार १७२ पुरुष तथा विदेशी मुलुकबाट ३३ हजार ६९४ महिला र ४५ हजार ६१ पुरुषले निकुञ्जको भ्रमण गरेको अधिकारीले बताउनुभयो ।

गत आव २०७७÷७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन् । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका अधिकारीले जानकारी दिनुभयो ।

निकुञ्जको राजस्वमा कमी

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै यहाँ सङ्कलन हुने राजस्वमा समेत एक चौथाइ भन्दा बढीले कमी आएको छ । निकुञ्जले सङ्कलन गर्दै आएको राजस्वमा अघिल्लो आवको भन्दा गत आवमा कूल रु १५ करोड ४८ लाख ९३ हजार ५१५ ले कमी आएको जनाइएको छ । निकुञ्जमा गत आव २०७७÷७८ मा जम्मा रु चार करोड ४३ लाख ६२ हजार १६६ मात्रै राजस्व सङ्कलन भएको छ भने अघिल्लो आव २०७६÷७७ मा रु १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो ।

यहाँ घुम्न आउने पर्यटकबाट सङ्कलन हुने राजस्व घट्दा निकुञ्जले सङ्कलन गर्ने राजस्वमा कमी आएको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आव भन्दा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु १६ करोड ४८ लाख ४७ हजार २३६ कम राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०७६÷७७ मा पर्यटक शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ राजस्व सङ्कलन भएकामा गत आव २०७७÷७८ मा रु दुई करोड ५५ लाख ३७ हजार ८२८ मात्रै राजस्व सङ्कलन भएको अधिकारीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।