सरकारी स्वास्थ्य सामाग्रीमा काँग्रेसको लोगो ! सामाग्री ट्रष्टले किनेको हो–सुनिल थापा
धनकुटा,८ भदौ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत् कोरोना (कोभिड–१९) लागि आएको स्वास्थ्य सामाग्रीमा नेपाली कांग्रेसले आफ्नो पाटीको नाम र लोगो टाँसेर बितरण गर्न खोजेपछि नेकपा एमाले निकट युवा संघ र युथफोर्स धनकुटाले हस्तक्षेप गरेको छ ।

महामारीका बेलामा जनताहरुका स्वास्थ्य संग राजनीति गरेको भन्दै धनकुटा ६ स्थित होटल प्यासिफिक ३ मा भण्डारण गरेर राखेको अक्सिजन सिलिण्डर लगाएतका स्वास्थ्य सामाग्रीहरु यूवासंघले घेराउ गरेर नाराबाजी गरेका थिए ।
नेपाली काँग्रेसका सह–महामन्त्री सुनीलबहादुर थापाले आफ्ना स्व.पिता सूर्यबहादुर थापा ट्र«ष्ट मार्फत नेपाली काग्रेसले बितरण गर्न राखेको उक्त स्वास्थ्य सामाग्रीहरु जिल्ला प्रशासनले जिम्मा लिएर जनतालाई बुझाउनुपर्ने यूवासंघ र यूथफोर्सले माग गरेको थियो ।
युवा संघ र युथफोर्सले अहिले उक्त स्वास्थ्य सामाग्रीहरु भएको स्थानमा घेराउ गरेर ‘कोभिड माथिको सत्ता राजनीति बन्दगर’,‘धनकुटेली जनता एक हौ’,‘युथफोर्स जिन्दावाद’ लगायतका नाराहरु लगाएर धर्ना दिएका थिए ।

शान्तिपूर्ण तरिकाले पद्दतीमा उक्त सामाग्रीहरु जनतामा हस्तान्तरण नगरिए यूवासंघ र युथफोर्सले जफत गरेर जनतालाई बुझाउने उनीहरुको चेतावनी दिएपछि उक्त सामाग्रीहरु जिल्ला प्रशासन कार्यालयको रेखदेखमा रहने गरि जिम्मा लिएपछि आन्दोलन स्थगित भएको छ ।
महामारीका बेलामा जनताले स्वास्थ्य सामाग्री नपाईरहेको बेलामा राजनैतिक लोगो राखेर बितरण गर्नु राजनैतिक अ’पराध भएको यूवाहरुको ठहर थियो ।

यस बिषयमा कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले भने उक्त सामाग्रीहरु आफ्नो ट्रष्टले १ महिना अघि किनेर वितरण गर्न भण्डार गरेर राखेको र स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने स्वास्थ्य सामाग्रीहरु अहिले प्राप्त नभएको जानकारी दिनुभयो ।
यस्ता कार्य प्रति नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पत्रकार सम्मेलन गरेर विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ ।


