माटो विक्री गरेर दसैं खर्चको जोहो

रवीन्द्र काफ्ले/पाँचथर, २० भदौ/फिदिम नगरपालिका-४ तुम्देनचोकका २० वर्षीय दीप लावती अहिले घर छेउ मेची राजमार्गको दायाँ–बायाँ माटोका बोरा राख्न ब्यस्त छन् । सडकमाथिको माटो बोरामा भरि राजमार्गको आसपासमा उनको परिवारले चिटिक्क पारेर बोराको खात लगाएको छ । उनीजस्तै यहाँ अन्यले बोरामा माटो भर्छन्, सडकको दायाँ–बायाँ राख्छन् र विक्री गर्छन् ।

यसरी माटोको खरीद विक्री हुन्छ । मानिसहरुले यहीँ कामलाई पेसा बनाइरहेका छन् । तर फिदिम–४ चारखम्बेदेखि तुम्देन चोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको आम्दानी गर्ने माध्यम हो । चारखम्बे क्षेत्रमा मेची राजमार्गमाथि भित्तोमा रहेको रातो माटो गाढा रातो हुनुका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले आकर्षक मूल्यमा विक्री हुन्छ । यस वर्ष पनि राम्रो आम्दानी गर्ने उद्देश्यसहित लावतीको परिवारले माटो तयार गरिरहेको छ ।

फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँ–बायाँ माटोले भरिएका बोराहरु खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिसहरु कोही विक्रीमा ब्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् । यहीँ बाटो भएर पाँचथरका उत्तरी क्षेत्रहरु, ताप्लेजुङ र तेह्रथुमको पूर्वी भाग पुग्ने सवारी साधनमा माटो ‘लोड’ गरिन्छ । यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकहरुले नै माटोको रकम तिरेर खरीद गरी ग्राहकसम्म पुर्‍याइदिन्छन् ।

यहाँकी मीरा गुरुङ लावतीले रातो माटोको व्यापार थालेको १० वर्ष हुन लाग्यो । उनको परिवारले दसैंअघि कामदार लगाएर माटो खन्ने तथा विक्री गर्ने काम गर्दै आएको छ । ‘प्रायः दसैंमा घर सजावटको काम हुने हुनाले दसैंअघिको एक महिना अत्यधिक विक्री हुन्छ,’ लावतीले भनिन्, ‘हामी यहीँ बेला अलिअलि माटो विक्री गरेर आम्दानी गर्छौं ।’ माटो विक्रीले दसैं मनाउन आर्थिक रुपले मद्दत गरेको उनी बताउँछिन् । ‘यति नै हुन्छ भन्ने त छैन । तर राम्रै आम्दानी हुनाले नै यो काम गरिरहेका छौं,’ लावतीले भनिन् । दसैंअघि यहाँ माटो विक्री गर्न भ्याइनभ्याई हुन्छ । ‘जसले राम्रो माटो विक्री गर्न सक्यो, धेरै ग्राहक बनायो उसैले राम्रो आम्दनी गर्छ नि,’ लावतीले भनिन् । माटो विक्रीमा संलग्न स्थानीयले दसैंको सिजनमा आकर्षक आम्दानी गर्ने गरेका छन् ।

आफ्नै जमिनबाट रातो माटो निस्कने भएकाले राम्रो मेहनत र व्यापार गर्नसके आम्दानी पनि राम्रै हुने आधार रहेको अर्की जग्गाधनी रनमाया लावतीको भनाइ छ । यहाँ आफ्नो जमिन नहुनेहरुले जमिन भाडामा लिएर रातो माटो निकालेरसमेत विक्री गर्दै आएका छन् । दसैंअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै विक्री हुने गरेको छ । सडकसँगै घर हुनेहरुले छिटफुट रुपमा बाह्रै महिना माटो विक्री गरेर आम्दानी गर्ने गरेको स्थानीय जयन्द्र खवास बताउँछन् । यहाँको माटो प्रतिबोरा रु. ८० देखि १०० सम्ममा विक्री हुने गरेको छ । प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ ।

पहाडी क्षेत्रका ग्रामीण वस्तीका घरहरु ढुङ्गा र माटोको पर्खाल लगाएर निर्माण गरिन्छ । ढुङ्गा र माटोको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटोको प्रयोग गरिन्छ । लिपपोत सहज बनाउन तथा घरको सुन्दरताका लागि भूईंतलाको पर्खालको भूईंतर्फको करीब एक तिहाई भागमा रातो माटो पोत्ने चलन अहिले पनि गाउँघरमा उत्तिकै छ । कतिपय घरका पर्खालहरु त पूरै रातोमाटोले पोत्ने चलन पनि छ । यहीँ प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो । जसकारण यहाँका स्थानीयवासीले माटोको विक्री वितरणलाई पेशाकै रुपमा अङ्गालेका छन् ।

बाह्रै महिना नभए पनि वर्षमा केही समयका लागि भए पनि यहाँ माटो खन्ने, ढुङ्गा र माटो छुट्ट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयले रोजगारी पाएका छन् । “दसैंअघि राम्रो विक्री हुन्छ । धेरै लैजानेलाई अलि सस्तोमा पनि दिन्छौँ,’ लावतीले भनिन्, ‘बर्खा सकिएपछि माटो खन्न, बोरामा भर्न र मिलाएर सडकको छेउ भित्तामा राख्न थाल्छौँ ।’

यहाँको माटो गाढा रातो हुनाले गाउँ—गाउँमा प्रख्यात भइसकेको छ । यद्यपि गत वर्ष लकडाउन र कोभिड—१९ को महामारीका कारण राजमार्गका यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षहरुमा जसरी विक्री नभएको रातो माटोको विक्री गर्दै आएका कृष्ण खवासको भनाई छ । ‘पहिले राम्रो विक्री हुन्थ्यो र जग्गाधनीलाई हामीले राम्रो पैसा दिन सक्थ्यौँ । अहिले विक्री कम छ,’ खवासले भने । यस्तै माटो भर्नका लागि बजारमा बोरा नपाइने गरेको र बोराको मूल्य बढ्ने तथा माटोको मूल्य घटाउनुपर्ने हुनाले धेरै फाइदा भने हुन छाडेको माटोको विक्रीमा संलग्नहरुको भनाइ छ ।

माटो विक्री बढेपछि यहाँ दैनिक १५ जनादेखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र विक्री गर्ने काममा खटिन्छन् । यहाँका भित्तामा धेरै ढुङ्गा नरहेको र सजिलै माटो निकाल्न सकिने भएकाले विक्रेताहरुलाई सहज भएको छ । गाउँ—गाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरीद गर्न धेरैले रुचाउनाले माटोको विक्री बढेको हो । यहाँको माटोले लिपपोत गर्दा घर, आँगन आकर्षक देखिने हुनाले वर्षौँदेखि विक्री हुँदै आएको माटोको विक्रीमा संलग्न रनमाया लावती बताउँछिन् ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।