लागू औषधसहित मोरङ, सुनसरी र उदयपुरबाट ४ जना पक्राउ
विराटनगर, कात्तिक २४। मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक २३ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाट स्थानीय १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित सुमन बस्नेत पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी चौकी बाङ्गेले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, मोरङको बेलबारी नगरपालिका–७ बाट स्थानीय अनिलकुमार चौधरी ८० चक्की ट्रमाडोल र स्पास्पेनसहित पक्राउ परेका छन्। उनलाई प्रहरी चौकी बाहुनीले पक्राउ गरेको हो।
यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बाट स्थानीय लक्ष्मण राई र रविन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रमाडोल ९० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


