बिरामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा जीप चालक कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्।
त्यस्तै, सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। कैसि बिरामी रहेकी थिइन्।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


