रुकुम पश्चिममा जीप दुर्घटना : बालकसहित दुई जनाको मृत्यु, १३ जना घाइते
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा बालकसहित दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज दिउंसो करिब १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
जीप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए । दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा (गाडीधनी), २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन् ।
त्यस्तै, मध्यम अवस्थामा घाइते हुनेमा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा छन् । सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन् ।
घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ । अन्य घाइतेलाई समेत उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनापछि जीप चालक प्रदीप विक फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप भने घटनास्थलमै रहेको छ ।


