पाख्रीबासमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, १ लाख ११ हजार रुपैयाँ बरामद
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ लिस्म्बुमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कात्तिक २४ गते राति करिब २ः३० बजे स्थानीय विष्णु घिसिङको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक गणेश दाहालको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको छ । साथै, जुवा खेलिरहेको खालबाट नगद ४ हजार रुपैयाँ र पक्राउ परेका सातै जनाको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद नगदको कुल रकम १ लाख ११ हजार ३१५ रुपैयाँ रहेको छ ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–९ का ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लिलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन् ।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


