नाममात्रको पहाडी सडक : खाँबु रानीबास–रौता खण्डमा बिजोग, यात्रुलाई सास्ती

उदयपुर, २१ भदौ/निरन्तरको वर्षातले उदयपुरको ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको केन्द्र जोड्ने सडक क्षतिग्रस्त भएका छन् । जिल्लाको तीन पालिकाको केन्द्रबाहेका अन्य ग्रामिण सडकसमेत पहिरोले क्षतविक्षत भएको छ । निरन्तर पानी परिरहँदा जिल्लाको पहाडी भेगका दर्जनौं सडकहरु पहिरो र हिलोले यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सदरमुकाम गाईघाटसँग जोडिएको सडकदेखि शाखा र उपशाखा ग्रामीण सडक खण्ड जताततै भत्कनुका साथै पहिरोले पुरिने र हिलो भरिएर यातायात आउजाउमा समस्या भएको हो । जेठ पहिलो सातादेखि नै निरन्तर वर्षा भइरहेको छ । वर्षाले कच्ची सडकहरु भत्कने, पुर्ने, पहिरो जाने र हिलोले खाल्डाखुल्डी पर्दा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन् । बस ब्यवसायीकाअनुसार पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको क्षतिग्रस्त भएका छन् ।

समथर भूभागमा डुबान र कटानको समस्या पर्ने गरे पनि वर्षाले पहाडी भेगका सडकहरु भने पहिरोकै समस्या खेप्नुपर्ने अवस्था छ । लामो दुरीको गाईघाट दिक्तेल सडकसँग जोडिएका विभिन्न स्थानीय तह जाने कच्ची सडकहरु धेरैजसो बिग्रेर यातायात आउजाउ अवरुद्ध हुन पुगेको छ । केही दिनयता हरेक दिनजसो वर्षा भइरहेको छ । निरन्तर हुने वर्षाले सडक भत्कने, पहिरो पन्छाएर मर्मत गरे पनि तत्कालै भत्किने, सडक मर्मत गरे पनि पहिरो झर्ने समस्या रहेको स्थानीय बताउँछन् ।

धेरैजसो भर्खर खनिएका कच्ची सडक भएकाले जताततै पहिरो र हिलोले चारपाङग्रे साधन हिड्न सक्ने अवस्थामा छैन । मोटरसाइकल सम्म पनि हम्मे गरी चलाउनु पर्ने अवस्था रहेको स्थानीय बताउँछन् । पहिरो र हिलोले पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरु बन्दको अवस्थामा छन् । स्थानीय तहका आन्तरिक सडकहरु झन् चल्नै नसक्ने स्थितिमा पुगेको छ ।

लिमचुङबुङका सडक बिग्रेका कारण गाउँपालिका केन्द्र बाराहा जान आउन, एक वडादेखि अर्कोमा जान समस्या परेको छ । भत्के बिग्रेको सडक मर्मत गरे पनि अर्को दिन परेको वर्षाले बिगारि हाल्ने गरेकाले जस्ताको तस्तै बनाउने गरेकाले बनाउन पनि स्थानीयहरु दिक्क मान्ने गरेको छ ।

ताप्ली गाउँपालिकाको हालत पनि उस्तै छ । ५ वटै वडामा आन्तरिक सडक निर्माण भई सकेको भए पनि हिउँद भरी चल्ने सडक वर्षा लागेपछि कामै नलाग्ने गरेको स्थानीय बताउँछन् । वडा नं. ३ दगलेका शिक्षक एकबहादुर मल्लकाअनुसार सानो बजेट, भिरालो जमिन र बिना इन्जिनियरिङ खनिएका सडक भएकाले दीगो र भरपर्दो हुन नसकेको हो । जति मर्मत गरे पनि कामै नलाग्ने सडकले हरेक वर्षा याममा दुःख दिने गरेको वडाबासीको दुखेसो छ । उदयपुरगढी र रौतामाई गाउँपालिकामा पनि समस्या त्यस्तै रहेको छ ।

सदरमुकाम भए पनि त्रियुगा नगरपालिकाका पहाडी वडाहरुमा पनि समस्या उस्तै छ । त्रियुगाका वडा नं. १४, १५ र १६ सबै पहाडी र बिकट भएकाले सडकहरुको उस्तै छ । कटारी नगरपालिकाका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाहरु सबै पहाडी भेग भएकाले समस्या उस्तै रहेको छ । त्यस्तै, चौदण्डीगढी नगरपालिकाको पहाडी वडाहरु १, २ र ८ नं. वडामा पनि आन्तरिक सडकहरुको अवस्था वर्षाले दयनीय बनाएको छ भने बेलका नगरका ५, ६ र ७ नं. वडा जाने सडकहरु पनि वर्षाको चपेटामा परेको स्थनीयको भनाइ छ ।

सडकहरु भत्केका कारण नगरपालिका केन्द्र (मुकाम) आउजाउ गर्न निकै कठिनाई हुने गरेको उनीहरुको भनाई छ । कच्ची सडकहरु हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुने अर्को समस्या त छदैछ । पहिले जस्तो सडक भत्कदा मर्मत गर्न जिल्ला र केन्द्रको मुख ताक्नु नपर्ने भएकाले त्यति ठूलो समस्या भने अहिले छैन । हरेक स्थानीय तहले आन्तरिक सडक बिग्रे भत्केका बेला आवश्यक बजेट तर्जुमा गरेर मर्मत गर्न सक्ने भएकाले जनतालाई केही राहत भएको बताउँछन् ।

गाउँपालिका केन्द्र जाने सडक नै वर्षातको समयमा अवरोध हुने गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउँछन् । उनकाअनुसार गाउँपालिका केन्द्र सडक नै दिगो छैनन् । आन्तरिक सडकको त के कुरा गर्नु र ? गाउँपालिका केन्द्र जाने सडक मर्मतमा नै प्रत्येक वर्ष लाखौं लाख बजेट खर्च हुने गरेको गुनासो पोखे ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।