तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण

फुङ्लिङ, २४ भदौ । कोभिड–१९ का कारणले पर्यटन क्षेत्र प्रभावित भए पनि आगामी दिनमा पर्यटक भित्र्याउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।

पूर्वको गोसाइँकुण्डको नामले समेत परिचित तिम्बुङ पोखरी चार हजार ४८० मिटरको उचाइमा छ । निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि गाउँपालिकाले रु ५५ लाखको लागतमा आवास भवन निर्माण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता प्रकाश राईका अनुसार पर्यटन मन्त्रालयबाट विनियोजित रु ५० लाख र गाउँपालिकाको पाँच लाखको लगानीमा आवाससहितका संरचना निर्माण गरिएको छ । करिब तीन हजार ८०० मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४५ जना अटाउन सक्ने क्षमताको पर्यटक आवास घर, भान्सा घर र शौचालय निर्माण गरिएको छ ।

पर्यटक आवास निर्माण भएसँगै गाउँपालिकाले सञ्चालनको तयारी गरेको छ । ठेक्का (बोलपत्र) प्रक्रियामार्फत आवास वार्षिक रु ६२ हजारमा भाडामा लगाएको र अब दशैँ अघि नै सञ्चालनमा आउने पनि प्रवक्ता राईले बताउनुभयो ।

पर्यटक घर सञ्चालनमा आएपछि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकले खानेबस्ने सुविधा पाउने छन् । हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रुपमा सो क्षेत्रमा रहेको चौंरी गोठहरुलाई सदुपयोग गर्ने गरेका थिए ।

कालीखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई कम्तिमा तीन दिन लाग्ने हुँदा सो क्षेत्रमा रहेका सीमित चौंरी गोठमा बास बस्नुपर्ने अवस्था थियो । पर्यटक आवास घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा हुने भएको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो ।

पर्यटक अवागमन सहज गर्न तिम्बुङ पोखरी जाने पदमार्गको पनि स्तरोन्नति गरिएको छ । विगत दुई वर्षयता पर्यटन मन्त्रालयकै सहयोगमा पर्यटक आवास घरसहित तिम्बङ पोखरीको सौन्दर्यकरण, पदमार्ग स्तरोन्नतिको कार्य गरिएको ताम्लिङले बताउनुभयो । मन्त्रालयको सहयोग र गाउँपालिका समेतको साझेदारीमा पर्यटकलाई आराम लिनका लागि पदमार्गको ठाउँ–ठाउँमा विश्रामस्थल समेत निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रमा धार्मिक आस्थाका हिसाबले समेत हरेक वर्ष नाग पञ्चमीका दिन उल्लेख्य रुपमा आन्तरिक पर्यटकहरु पोखरीको भ्रमण तथा दर्शनमा पुग्ने गरेका छन् । सुन्दर तथा मनमोहक दृश्य, जडिबुटी, चौंरीपालन, रेडपान्डालगायतको अध्ययन अवलोकन गर्नलाई आन्तरिक तथा विदेशी पर्यटकले तिम्बुङ क्षेत्रको भ्रमण गर्ने गरेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।