स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द, बच्चा जन्माउन आमाहरू सदरमुकाममा

रवीन्द्र काफ्ले/पाँचथर, ३० भदौ । पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा सेवा लिन सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो ।

चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द छ । बर्थिङ सेन्टर बन्द भएपछि प्रसूति गराउने सबै आमाहरूलाई सदरमुकाम फिदिम पुग्नुपर्ने अवस्था छ । ‘गाउँको बर्थिङ सेन्टर बन्द हुँदा प्रसूति गराउन फिदिम पु¥याउनु पर्ने अवस्थाले आफूहरु मारमा परेका छौँ’, स्थानीयवासी तिलक तुम्रोकले भने ।

‘गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रवन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ’, तुम्रोकले भने, ‘यसले आर्थिक अवस्था कमजोर स्थानीयवासीलाई समस्यामा पारेको छ ।’

स्थानीयवासीले बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको भन्दै विरोध जनाएका छन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोकका अनुसार स्वास्थ्य चौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रवन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन छ ।

‘स्वास्थ्य चौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रुपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौँ’, तुम्रोकले भने, ‘तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।’

बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मीसमेत आवासको समस्या देखेर दुई साता नबित्दै काज सरुवा गरी गएको तुम्रोकले बताए । फिदिम–६ का वडाध्यक्ष जरमान तुम्रोकका अनुसार ‘वान हर्ट’ नामक संस्थाको सहयोगमा चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिएको थियो । तर, जनशक्ति अभाव हुँदा बर्थिङ सेन्टरबाट भनेजस्तो सेवा प्रवाह हुन नसकेको तुम्रोकको भनाइ छ ।

‘दरबन्दीअनुसारका जनशक्ति पठाइदिन फिदिम नगरपालिकालाई भन्दै आएको छु”, वडाध्यक्ष तुम्रोकले भने, “अस्ति विज्ञापन पनि भइसकेको छ । नगरपालिकाले परीक्षा गराएर पठाउने भनेको छ । त्यसपछि समस्या समाधान होला ।’

सिवा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेण्ट ओमप्रकाश यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्यकर्मी २४सै घण्टा काममा खटिनुपर्छ । स्वास्थ्य चौकी वा नजिकै आवासको ब्यवस्था नहुँदा रातको समयमा स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् ।

उक्त स्वास्थ्य चौकीमा एसडीए तालिम प्राप्त एकजना अनमी र एकजना अहेब पद रिक्त छ । एसडीए तालिम प्राप्त एक जना अनमी यहाँ कार्यरत रहे पनि प्रसूति सेवा पुनः सञ्चालनमा ल्याएपछि उनी एक्लैले सेवालाई निरन्तरता दिन नसक्ने यादवले बताए ।

उनका अनुसार फिदिम नगरपालिका–६ सिवामा मासिक करिब १४ जना आमाहरू सुत्केरी हुने गरेका छन् । उनीहरू सबै सदरमुकाम फिदिम पुगेर प्रसूति सेवा लिन बाध्य छन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖