समीक्षा बैठकमा उपस्थित नै हुँदैनन् पालिकाका प्रमुख
इलाम, ३० भदौ । ‘अन्तिम वर्ष भएर हो कि के हो, जनप्रतिनिधिहरुलाई अल्छी लागेको जस्तो छ’, प्रदेशसभा सदस्य राम रानाको टिप्पणी हो यो । जिल्ला समन्वय समितिले आयोजना गरेको समीक्षा बैठकमा जिल्लाका अधिकांश पालिका प्रमुख अनुपस्थित भएपछि कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रानाले यस्तो टिप्पणी गरेका हुन् ।
समीक्षा बैठकमा अधिकांश पालिकाका प्रमुख उपस्थित भएनन् । बुधबारको बैठकमा स्थानीय तहले गत आर्थिक वर्ष २०७७/०७८ मा गरेका कामको समीक्षा गर्ने कार्यक्रम थियो । पहिले गरेका कामको समीक्षा गरेर भावी योजना बनाउन जिल्ला समन्वय समितिले बर्सेनि समीक्षा बैठक राख्ने गरेको छ । तर, पालिका प्रमुखहरूले त्यसलाई खासै महत्त्व दिएनन् ।
बैठकमा पालिका प्रमुखमध्ये इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई मात्र थिए । देउमाई नगरपालिकाकी उपप्रमुख, रोङ र फाकफोकथुम गाउँपालिकाका उपाध्यक्षहरू बैठकमा सहभागी थिए । सूर्योदय नगरपालिका, माई नगरपालिका, सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधि बैठकमै उपस्थित भएनन् ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचन भएको चार वर्ष पूरा भएको छ । जनप्रतिनिधिहरूले आउँदो १० असारसम्म मात्र काम गर्न पाउनेछन् । पाँच वर्षे कार्यकाल पूरा हुनै लाग्दा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा भएको कामको समीक्षा गर्नुपर्ने हो तर उनीहरू आफूले गरेको कामको समीक्षा गर्न खासै इच्छुुक नदेखिएका रानाको भनाइ छ ।
‘आफ्नो कार्यकालमा केके काम भयो, केके काम पुरा हुन सकेन, केके काममा ध्यानै पुगेन भनेर समीक्षा गर्न जरुरी हुन्छ’, प्रदेशसभा सदस्य रानाले भने, ‘विगतको समीक्षा नगरी कसरी भविष्यको योजना बनाउने ?’
प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत भइसकेका राना सरकारको रूपमा कति सफल भइयो भनेर जनप्रतिनिधिले समीक्षा गर्नुपर्ने बताउँछन् । ‘सरकारको रूपमा कतिको व्यवस्थित भइयो ? कानुन, नियम कति बनायौँ ? स्थानीय तहमा संसदीय अभ्यासलाई कति प्रभावकारी र व्यवस्थित बनाउन सकियो ? यसको समीक्षा गर्न आवश्यक छ’, उनले भने, ‘जनप्रतिनिधि भएपछि अभिभावकत्व प्राप्त भएको छ, आगामी दिनमा पालिकाहरूलाई कसरी अघि बढाउने भनेर समीक्षा गर्नुपर्छ ।’
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत पनि समीक्षा आवश्यक हुने बताउँछन् । उनले जिल्ला समन्वय समितिलाई कम आँक्न नहुने बताए । ‘जिल्ला समन्वय समिति संवैधानिक अंग हो, यसलाई कम आँक्न हुँदैन’, नेपाल नगरपालिका संघ प्रदेश १ का अध्यक्षसमेत रहेका बस्नेतले भने, ‘विगतको कामको समीक्षा नगरी भविष्यका लागि योजना बनाउन सकिँदैन । भोलिको मार्गदर्शनका लागि समीक्षा हुनुपर्छ ।’
यसअघि यस्तो समीक्षा बैठकमा उपस्थित हुन र त्यहाँ उठेका प्रश्नको जबाफ दिन अन्य सरकारी कार्यालयका प्रमुखहरूले अरुचि प्रकट गर्ने गरेका थिए । धेरैजसो कार्यालयका प्रमुखले आफूभन्दा तल्लो स्तरका कर्मचारी बैठकमा पठाउने गरेका थिए । समीक्षा बैठकमा कार्यालय प्रमुख अनुपस्थित हुँदा पालिका प्रमुखहरूले नै प्रश्न उठाउने गरेका थिए ।
यस पटक भने पालिका प्रमुखहरूले नै समीक्षा बैठकमा उपस्थित हुन र त्यहाँ उठेका प्रश्नको जबाफ दिन रुचि देखाएनन् । जिससको आयोजनामा भएको बुधबारको बैठकमा १० वटै पालिकाले गत आर्थिक वर्षमा भएका कामका बारेमा प्रस्तुति राखेका छन् । बुधबार कृषि अनुसन्धान केन्द्र, अलैँची विकास केन्द्र र वागवानी विकास केन्द्रले समेत गत आवमा भएका कामका बारेमा जानकारी दिएका छन् ।-न्यूज कारखाना


