पाख्रीबासमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिकामा संविधान दिवसको अवसर पारेर चेतना युवा क्लब पाख्रीबास ३ को आयोजना र पाख्रीबास नगरपालिकाको सहयोगमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज पाख्रीबास स्थित होटल हिले भ्यूको सभाहलमा सम्पन्न “पाख्रीवासको दृष्टि : शिक्षा , स्वास्थ्य , पर्यटन र कृषि ( The Vision of Pakhribas : Education , Health, Tourism And Agriculture )” बिषयक प्रतियोगितामा सबै वडाका गरि २१ प्रतियोगिहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा वडा नं ५ का विश्वजीत देउजा,४ का वीरबल खड्का, ५ का शम्भुजित देउजा र १ का ज्योति न्यौपाने क्रमश: प्रथम,दोस्रो,तेस्रो र सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।

विजेताहरुलाई क्रमश : रु ५०००,प्रमाणपत्र,रु ३०००,प्रमाणपत्र,रु २०००,प्रमाणपत्र ,रु १०००,प्रमाणपत्र साथै सहभागी सबैलाई अतिथिहरुको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरि नव उदायमान प्रतियोगिको रुपमा वडा ७ का समिक्षा तामॉंग चयन गरिएको थियो ।

चेतना युवा क्लबका सल्लाहकार संयोजक नगेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिको रुपमा नगरपालिका प्रमुख बृख बहादुर राई र देवकला पौडेल तिम्सिनाको उपस्थिति रहेको थियो ।

त्यसैगरि वडा अध्यक्षहरु लगायत नेकपा एमाले पाख्रीबास नगर कमिटि अध्यक्ष शान्तिराम गौतम,रेडियो बरुणका प्रमुख मदन राई लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका निर्णयकहरुमा सामुदायिक बिकास मन्च नेपाल धनकुटा कार्यक्रम संयोजक तथा सुकुम्बासी समस्या समाधान आयोग विज्ञ सदस्य साबित्रा राई,नगरपालिकाका रोजगार संयोजक नारायण बस्नेत,जिल्ला पशु सेवा कार्यालय धनकुटाका सहायक प्रमुख डा. देव कुमार दर्लामी र प्राकृतिक श्रोत ब्यवस्थापन कलेजका प्राध्यपक तथा शितलादेवी अंग्रेजी स्कुलका प्रिन्सिपल चन पौडेल रहनु भएको थियो ।
यस्तै नगरपालिकाकै सहयोगमा क्लबले चॉंडै नै हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने पनि क्लबका सल्लाहकार संयोजक बस्नेतले बताउनु भयो ।

करिब ५ घण्टा चलेको कार्यक्रमलाई पहिलो खण्डमा क्लबका सचिब रमेश बस्नेत र दोस्रो खण्डमा ध्रुव पौडेलले संचालन गर्नु भएको थियो ।



