विद्युत्का कारण गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध
–उमा केसी,रोल्पा, २३ असोज । रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । अहिले गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका छन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भन्नुभयो ।
पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उहाँले भन्नुभयो । सम्बन्धित नियकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोख्नुभयो । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो ।
पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो । उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत गर्नुप¥यो भनी फोनगर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गर्नुभयो । तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताउनुभयो । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उहाँको भनाइ थियो ।
टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुप¥र्यो नि उहाँले भन्नुभयो । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताउनुभयो । मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउनेसमेत उहाँले बताउनुभयो ।समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ ।
माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २स्थित राङ्सी र वडा नं ५को राङ्कोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन । गङ्गादेव गाउँपालिकाको वडा नं ७स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेवित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।
रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताउनुभयो । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीयवासी सूर्यप्रकाश बुढामगरको गुनासो थियो । मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए ।
विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा व्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।


