पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना

जनक श्रेष्ठ,लमजुङ, १ कात्तिक । बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको थालेको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी १५० जनासम्म आउन थालेका छन् । केही दिनअघिसम्म मुस्किलले दुई चार पर्यटक आउने गरेकामा पनि यतिबेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवं सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकाले विगतमा यस झरनामा दैनिक करिब चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनबाट जाने पर्यटक एकपटक बुङ छहरामा नहेरी जानै चाहाँदैनन् । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्वीर लिने र सेल्फी खिच्नेको भिड लाग्छ ।

स्थानीयवासी आइतबहादुर गुरुङले भन्नुभयो, छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फष्टाएको छ । केही दिनअघिदेखि १०० भन्दाबढी पर्यटकले आवतजावत गर्न थालेको र तिनले झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानीसमेत बढ्न थालेको उहाँको भनाइ थियो ।

झरनाको वारी च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने यो छहरा वर्षात्का बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गरेको स्थानीयवासीको भनाइ थियो । यतिबेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोर दोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।

त्यस्तै सोही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो झरना बेँसीशहरस्थित चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताउनुभयो ।

यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफँैलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति भएको उहाँको भनाइ थियो । उहाँजस्तै यहाँ आउने जो कोहीले पनि अवलोकन पछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन् ।

मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुपै्र पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवद्र्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।