अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

रमेश लम्साल,काठमाडौँ, ८ कात्तिक। सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण–४ आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिइएको पुष्टि गर्नुभयो ।

विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स आज प्राप्त गरेको छ ।

अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्दछ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले एक हजार ५५१ मेगावाटका दुई आयोजना एकसाथ अगाडि बढाउने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी एक हजार ५५१ मेगावाटको आयोजनाको निर्माण समानान्तररुपमा ‘जनताको जलविद्युत् कायक्रम’अन्तर्गत अगाडि बढाइने जानकारी दिनुभयो ।

“अरुण–४को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक÷डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौँ”, घिसिङले भन्नुभयो ।

आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि शेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिनेछ । विभागले अरुण–४ लाई नदीको वहावमा आधारित आयोजनाका रुपको रुपमा पहिचान गरेको थियो । माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो।

अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी तथा लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेंसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत् उत्पादन गरिनेछ ।

विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश ः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् ।

कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युत्गृह क्षेत्र पुग्ने करिब दुई किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब रु ६५ अर्ब) छ । आयोजनाबाट वार्षिक दुई अर्ब नौ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।