सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा बेकामे

म्याग्दी, ९ कात्तिक ।म्याग्दीको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका छन् । सरोकारवालाको बेवास्ता र विवादका कारण बेनी बजारका विभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सीमित भएको छ । बिग्रिएर काम गर्न छाडेको डेढमहिना हुँदासम्म मर्मत भएको छैन् । बजारका १७ ठाउँमा राखिएको सिसिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ । हाल दुई वटा मात्र सिसिटिभीले काम गरेको छ ।

विद्युत्का खम्बामा राखिएका सिसिटिभी क्यामेरा तार चुँडिने, जल्ने, टुट्ने भएर बिग्रिएका हुन् । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र बजार ब्यवस्थापनमा समस्या भएको विभिन्न सार्वजनिक कार्यक्रममा उठाउँदै आउनुभएको छ । “नगरपालिका, प्रशासन, प्रहरी सहितको बैठकको निर्णय अनुसार उद्योग बाणिज्य संघका अध्यक्षको नेतृत्वमा गत साउनमा मर्मत भएको सिसिटिभी बिग्रीएको डेढ महिना भयो,” उहाँले भन्नुभयो “प्राविधिकले मर्मत वापतको रु. एक लाख चालिस हजार भुक्तानी नपाएर मर्मतलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् । सुरक्षासँग सम्बन्धित यस्तो संवेदनशिल विषयमा किन बेवास्ता गरिएको हो ?”

बेनीमा केही समययता सवारी साधन चोरीका घटना बढेका छन् । सवारी दुर्घटना, चोरी, बजार ब्यवस्थापन र निगरानी गर्न प्रहरीलाई सिसिटिभिले सहयोग गरेको थियो । पाँच वर्षअघि म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा बेनीमा सिसिटिभी जडान भएको थियो । सिसिटिभी क्यामेराको सहायताले बजारको विभिन्न चोक र संवेदनशिल क्षेत्रमा भएका गतिविधिलाई निगरानी गरिएको थियो ।

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बजारको सिसिटिभी क्यामेरा ब्यवस्थापन गर्न रु. एक लाख पचास हजार बिनियोजन गरेपनि कार्यान्वयन भएन् । वडा, नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरी कार्यालय मध्य कसले मर्मत गर्ने भन्ने बिवादले गत वर्ष कार्यान्वयन नभएको बजेटलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

नयाँ आर्थिक वर्षको शुरुमै म्याग्दी उद्योग वाणिज्य संघ मार्फत मर्मत गरेर बेनीका सिसिटिभी नियमित सञ्चालन गर्ने सहमति भएको थियो । संघका अध्यक्ष बेलबहादुर कटुवालले सहमति अनुसार प्रहरीको सहयोगमा प्राविधिक खगेन्द्र खत्रीले बजारका सबै सिसिटिभी क्यामेरा मर्मत गरेर सञ्चालन गर्नुभएको थियो । “प्राविधिकले काम गरेको भुक्तानी पाएपछि बिग्रिएको सिसिटिभी मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्”, उहाँले भन्नुभयो “सिसिटिभी नियमित मर्मत र सञ्चालन गर्ने जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको हो ।”बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा कार्यालय र उद्योग वाणिज्य संघले जिम्मेवार भएर काम नगरेकाले सिसिटिभी मर्मत र सञ्चालनमा समस्या देखिएको बताउनुभयो ।

“नगरपालिकाले प्राविधिकसँग गरेको सम्झौता अनुसार कामको मुल्याङ्कन र बिलको आधारमा भुक्तानी दिन्छ”, उहाँले भन्नुभयो “एकै ठाउँमा राखेर छलफल गर्न खोज्दा नआउने उहाँहरुबीचको स्वार्थले सिर्जना गरेको समस्यामा नगरपालिकालाई दोष दिएर जिम्मेवारी र दायित्वबाट पन्छिन मिल्दैन् । ”सम्झौता अनुसार प्राविधिक मूल्याङ्कन गरेर भुक्तानीको प्रक्रिया अघि बढाउन कर्मचारी तथा सिसिटिभी मर्मत गर्न जिम्मा लिएका प्राविधिकलाई निर्देशन दिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।