प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ
काठमाडौँ, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ । अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोक्नुभएको छ । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको छ । उहाँले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।
प्रहरी ह,त्या घटना : नौ जनालाई जन्म कैदको फैसला
सुदूरपश्चिम, १० कात्तिक । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको ह,त्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले ह,त्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भन्नुभयो, “हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।” उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।
सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।


