ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला
फुङ्लिङ, १० कात्तिक । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।
महिला फुटबल : गैँडाकोट विजयी
काठमाडौँ, १० असोज । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाँैडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।
जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। यस्तै प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन्।


