बागमती प्रदेशको नयाँ सरकार गठनका लागि समय निर्धारण
मकवानपुर, १० कात्तिक । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोक्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिनुभएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गर्नुभएको हो ।
उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गर्नुभएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो।
ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला
फुङ्लिङ, १० कात्तिक। ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।


