एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

काठमाडौँ, ११ कात्तिक । नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

काठमाडौँ, ११ कात्तिक । आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवार बीच बुधवार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको थियो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आवुधावीमा अन्य कुटनीतिक भेटघाट
आबुधाबी डायलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो । साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण तथा रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाालले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।