रु पाँच अर्बको लगानीमा विराटनगरमा व्यापारिक भवन निर्माण हुने
मोरङ, १२ कात्तिक । विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ । स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ । प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिकरूपमा सवल बन्ने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशीलरूपमा स्थापित हुने विचार राख्नुभयो । उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली–२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ ।
यो पनि पढ्नुहोस्..राष्ट्रपति शनिबार ढोरपाटन आउने
बागलुङ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो । “अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ”, प्रजिअ कार्कीले भन्नुभयो । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उहाँको भनाइ छ ।
राष्ट्रपति आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।


