सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
काठमाडौँ, १२ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन ।प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो । न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन् ।
यो पनि पढ्नुहोस्..एमाले पोखरा महानगरका अध्यक्षमा न्यौपाने
कास्की, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा बिहीबार साँझ अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो । अध्यक्षका लागि न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको थियो ।
यसैगरी महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिवद्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत हुनुभएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो । महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यलाई बिहीबार रातिनै शपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच पालिका रहेको जिल्लामा मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मादीमा बालकृष्ण गुरुङ,अन्नपूर्णमा विवेक देवकोटा र रुपामा सवाबक्स मियाँ पालिका कमिटीको अध्यक्ष सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
माछापुच्छ«े गाउँपालिकामा भने अध्यक्षका प्रत्याशीका बीचमा सहमति नजु्टदा अधिवेशन को निर्वाचन प्रक्रिया स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । माछापुच्छ«ेमा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।


