अध्यक्ष नेपाल- किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन
कास्की, १२ कात्तिक ।सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।”
निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उहाँले जोड दिनुभयो । माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभयो । “वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला ।
त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।” उहाँले भन्नुभयो ।एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गर्नुभयो । एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उहाँको भनाइ थियोे ।
यो पनि पढ्नुहोस्..सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
काठमाडौँ, १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन ।
प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो । न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन् ।


