निधिलाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम पार्टी आफू स्वदेश नफर्कञ्जेलसम्मका लागि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्.. गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिडर्स सम्मेलनमा सहभागी हुन आज बेलायततर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्हाल्ने गरी खाँणलाई प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।


