पौवामा पचास वर्षदेखि दुग्धजन्य परिकार उत्पादन

काभ्रेपलाञ्चोक, १३ कात्तिक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो । विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रु १५ लाखको कारोबार गर्दै आएको जनाइएको छ । यसरी उत्पादित सामग्री काठमाडौँस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा बिक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताउनुभयो ।

उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध सङ्कलन हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध सङ्कलन गरिँदै आइएको छ ।

“दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ”, केन्द्र प्रमुख प्रकाश केसीले भन्नुभयो । उहाँका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरिद गर्ने गरेका छन् । केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाई–भैँसी पाल्ने कृषकको सङ्ख्या बढेको कृषक सुरेश कर्माचार्यले बताउनुभयो । “यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाई–भैँसी पाल्दै आएका छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पु¥याइरहेको छ । एघार रोपनी जमिनमा अवस्थित केन्द्रका छ भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनःनिर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।