जनार्दन शर्मा- वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर ….
मकवानपुर, १४ कात्तिक । अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । हेटौँडामा आज आयोजित वाइसिएल हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने काम गरिरहेको छ ।” उहाँले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताउनुभयो ।
हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानकोे जीविकामा जटिलता थपिएको उल्लेख गर्नुभयो । मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्दामा थोरै भए पनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताउनुभयो । प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो पनि पढ्नुहोस …लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
लहान, १४ कात्तिक (रासस) :
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो ।
सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ । राज्यको हरेक अङ्गमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले संविधान संशोधन गरी नयाँ सङ्घीय व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको जिकिर गर्नुभयो । “आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन लाग्नुहोस्” डा. भट्टराई भन्नुभयो,“ तपाईहरू सङ्गठन विस्तार, शुदृढीकरण र प्रचारमा जुट्नुस् हामीले आज गरेको मेहनतले भोलि परिणाम दिने हो ।”


