आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने
काठमाडौँ, १५ कात्तिक । सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छ इजलास तोक्नुभएको छ । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नुभएको छ । अब केही बेरमा सुनुवाइ सुरु हुन्छ ।गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको आज एक हप्ता भएको छ ।
सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । आज प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ ।अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।
यो पनि पढ्नुहोस्..स्थलगत अवलोकन पछि मात्रै योजना कार्यान्वयनमा लैजान्छु -मन्त्री थापा
गलकोट, १५ कात्तिक। गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ । प्रेस सेन्टर बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडि बढाउने, असफल भएका योजनाको समीक्षा गर्ने र केही नयाँ योजना लागू गर्ने बताउनुभएको हो ।
“अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनाको कारण खोतल्छु र नयाँ योजना लागू गर्ने योजनामा छु”, मन्त्री थापाले भन्नुभयो, “अहिले नयाँ योजना लागू गर्नुपूर्व जनताको माग र भावनालाई स्थलगतरुपमा नै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु ।” तीन दिने जिल्ला भ्रमणमा आउनुभएका उहाँले जिल्लाको थामानेटा, गलकोट, ढोरपाटन क्षेत्रलगायतको अवलोकन तथा जनतासँग भेटघाट गर्नुभएको थियो। मन्त्री थापाले स्थलगतरुपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताउनुभयो। कृषि र धर्मलाई जोडेर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ भन्दै उहाँले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन केन्द्र अघि बढाइनेसमेत जानकारी दिनुभयो ।


