४० वर्षीय न्यूनदृष्टियुक्त व्यक्तिले फूलखेतीबाट गरे मनग्य आम्दानी

सानेबहादुर नेपाली,तनहुँ १७ कात्तिक। बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यूनदृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । उहाँ सो वडाका वडासदस्य पनि हुनुहुन्छ । शारीरिक रुपमा उहाँ अपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोसजाँगरमा कमी छैन् । वडासदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रुपमा सयपत्री फूलखेतीतर्फ आर्कर्षित बन्नुभएको छ । न्यूनदृष्टियुक्त व्यक्ति उहाँ आफूले सकेको काम आफै गर्ने र आफूले गर्न नसक्ने काम घरपरिवारलाई गर्न लगाउने उहाँको स्वभाव रहेको शाहीको श्रीमती गङ्गा शाहीले बताउनुभयो । गतवर्ष थोरै क्षेत्रफलमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यसवर्ष अझ क्षेत्रफल बढाएर फूलखेती गर्नुभएको छ ।

उहाँले फूलखेती थालेसँगै स्थानीयवासी थप उत्साहित हुन थालेका छन् । गत वर्ष करिब रु पैतिस हजार मूल्य बराबरको फूल बिक्री गरिएकोमा यसवर्ष कम्तीमा रु ५० हजारको बिक्री हुने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँबाट अफ्रिकन सयपत्री फूलको बीउ रु चार हजारमा खरिद गरी ल्याएर उत्पादन गरेको बिरुवा करिब एक रोपनी क्षेत्रफलमा लगाएको उहाँले बताउनुभयो । एक हजारभन्दा बढी फूलका बिरुवामा फूल फक्रिएको छ । उहाँले भन्नुभयो, “बढी वर्षाका कारण फूलका बिरुवा अग्लो भई ढलेकाले अपेक्षाअनुरुप आम्दानी लिन सकिदैन कि भन्ने लागेको छ ।”

सामान्य मेहनतमै थोरै जग्गामा विभिन्न प्रजातीका फूल तथा फूलका बेर्ना उत्पादनबाट राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । “एक रोपनी जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र”, उहाँले भन्नुभयो, “तर त्यती जग्गाबाट नसोचेको आम्दानी भएको छ ।” फूल बिक्रीका लागि बजारको कुनै समस्या नभएको र अधिकांश मानिसले घरमै आएर फूल लैजाने आश्वसन दिएकाले बिक्रीमा समस्या नहुने देखिएको छ । छोटो समयमा कम परिश्रम र थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले आफू यस व्यवसायतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । बर्सेनि विदेशबाट करोडौँका फूल नेपालमा भित्रिने हुँदा व्यावसायिक रुपमा फूलखेती गरेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यसको खेतीतर्फ लागिपरेको उहाँको भनाइ छ ।

“फूलखेती गर्दा जग्गा जमिन मलिलो हुने, रोग कीराको आक्रमण कम हुने, विषादी प्रयोग गर्न नपर्ने हुन्छउहाँले भन्नुभयो”, “गोडमेल, सिँचाइलगायत सजिलो काम गरे पुग्ने भएकाले आफ्नो रोजाइँको पेशा बनेको छ ।” उहाँ बन्दिपुर–१ रिमाल्नीमा अमृत नर्सरी स्थापना गरी फूल खेतीको साथसाथै फलफूलका बिरुवा समेत बिक्री गर्दै आउनुभएको छ । नर्सरीमा आँप, लिची, अम्बा, ड्रागन फ्रुट, एभोकाडोलगायतका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेको किसान शाहीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।