जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन दिदैँन
भक्तपुर, १७ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताउनुभएको छ । आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेका थिए तर काम गर्न खोजेको सरकारलाई जबरर्जस्ती रुपमा काम गर्न दिइएन, घेरान्दीमा पारियो र सरकारबाट बाहिर फालियो, जनताले यसलाई राम्रोसँग बुझेका छन् ।” तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको उहाँको भनाइ थियो ।
सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहदा बढ्दै गएको दाबी गर्नुभयो। ज्ञवालीले भन्नुभयो, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशिल छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।” कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
यो पनि पढ्नुहोस्..अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण
चितवन, १७ कात्तिक । नेकपा (एमाले) को १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ । आज उहाँसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गर्नु भएको हो । उहाँले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उहाँले जिज्ञासा राख्नुभएको थियो ।
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।
केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताउनुभयो । उहाँले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिनुभयो । नेकपा (एमाले)को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन सत्रमा एमालेले पाँच लाख जनता उतार्ने योजना बनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने कार्यक्रम तय भएको छ । यस स्थानको अध्ययनका लागि केन्द्रको थप टोली केही दिनमा आउने एमाले चितवनले जनाएको छ ।


