दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको अवसरमा केराका थामबाट मनग्ये आम्दानी

महोत्तरी, १८ कात्तिक । दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ । यस भेगका प्रत्येकजसो बजार केन्द्रमा आज बिहानैदेखि नै केराका थाम (बोट)को बजार लागेको छ । दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीका चोकचोकमा केराका थामको बजार जमेको हो ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएको हुँदा मिथिला क्षेत्रमा यो पर्व विशेषमा केराका थामको निकै महत्व हुने गरेको छ । केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी प्रशन्न हुँदै गृह प्रवेश गर्ने मैथिल हिन्दूका जनविश्वास छ ।

पर्वका अवसरमा थामको बजार आज बिहान जमे पनि मिथिलामा यसको खोजी केही पहिलेदेखि नै हुने गरेको छ । खासगरी व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजाकै दिन थाम पाइने÷नपाइने दुविधाले एक साता पहिलेदेखि नै अग्रिम पेश्की दिएर सुनिश्चित गरेका पाइएको छ । भङ्गाहा–४ रामनगरका केराखेती गर्ने किसान सत्यनारायण यादवले यसपालि ३५ हजारको थाम बिक्री भएको बताउनुभयो ।
पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पु¥याएका छन् । खर्चबर्चका अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावली पर्वमा एकजोडा केराका थाम ४०० सम्म बिक्री हुने गरेका किसानको भनाइ छ । पर्व सुरु हुनुअघि नै आफ्नो करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको केराका बोटको नयाँ कोथा बेचेर ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोेले जानकारी दिनुभयो । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसानको धारणा छ ।

“केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नैपर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्” गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहा भन्नुभयो, “छाँट्नुपर्ने कोथालाई हामी दीपावली पर्खन्छौँ ।” यस पर्वमा कोथाबाट नै अतिरिक्त आम्दानी हुने भएको हुँदा बेला कुर्ने गरिएको कुशवाहाको भनाइ छ ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरूपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता जिल्ला सदरमुकाम जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताउनुभयो ।

दीपावली र छठपर्वसमेत जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौँको कारोबार भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसपालि एक साताअघि नै थामसँगै पर्वविशेषकै लागि घरीको समेत खरिद बिक्री सुरु भएको हुँदा कारोबार रकम अझै बढ्ने छाँट देखिएको सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ । जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल वर्षेनी बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।